काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सगरमाथा स्म्यासर्सले बाढीपीडितको उद्धार तथा राहतका लागि क्यूआरमार्फत आर्थिक सहयोग गर्न सम्पूर्ण खेलप्रेमी तथा नागरिकलाई आह्वान गरेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखासहित त्रिशूली नदी तथा नदीकिनार आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै सगरमाथा स्म्यासर्सले ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार र प्रभावितहरूको सुरक्षित पुनःस्थापनाको कामना गरेको छ। विपद्को यस्तो अवस्थामा हरेक नागरिकले आफ्नो ठाउँबाट गर्ने सानो सहयोगले पनि राहत तथा उद्धार अभियानमा महत्वपूर्ण योगदान पुग्ने सगरमाथा स्म्यासर्सको विश्वास छ। यसै विश्वासका साथ पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) मा मुख्य प्रायोजकको स्थानमा कुनै व्यावसायिक संस्थाको प्रचार नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न मिल्ने क्यूआर कोड राख्ने निर्णय गरिएको सगरमाथा स्म्यासर्सले जनाएको छ। स्म्यासर्सले एनभिएल हेर्न आउने दर्शक, खेलप्रेमी तथा सम्पूर्ण नागरिकलाई क्यूआर स्क्यान गरी आफ्नो क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न विशेष आग्रह गरेको छ। सानो–सानो सहयोगबाट संकलित रकमले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिएको छ। खेलकुद क्षेत्रका विभिन्न संघसंस्थाले आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको अवस्थामा आफूहरूले पनि सामाजिक ऐक्यबद्धता जनाउँदै यस्तो पहल गरेको सगरमाथा स्म्यासर्सले जनाएको छ। यसअघि एनभिएल आयोजकले समेत मधेश वारियर्सविरुद्धको उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिइसकेको छ। सगरमाथा स्म्यासर्सले देश संकटमा परेको यस दुःखद घडीमा “क्यूआर स्क्यान गरौँ, सकेको सहयोग गरौँ र बाढीपीडितको साथमा उभिऔँ” भन्दै सम्पूर्ण खेलप्रेमी तथा नागरिकमा सहयोगका लागि हार्दिक अपिल गरेको छ।