रसुवा । गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको जनजीवन अस्तव्यस्त बनाएका बेला जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार भने दिनरात नभनी विपद् व्यवस्थापनमा खटिइरहेका थिए । बाढी आएको दिनदेखि नै उद्धार, राहत व्यवस्थापन, विभिन्न निकायबीच समन्वय तथा प्रभावित क्षेत्रको प्रशासनिक व्यवस्थापनमा सक्रिय रहेका परियारलाई विपद्को अवस्था अझै पूर्ण रूपमा सामान्य भई नसकेको समयमा गृह मन्त्रालय तानिएको छ । परियारले रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको दुई महिना पनि पूरा भएको थिएन । गत असार २४ गते मात्रै उनले रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । तर, आइतबार सार्वजनिक बिदाकै दिन उनको सरुवा भयो । उनको ठाउँमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा निर्देशकको जिम्मेवारीमा रहेका उपसचिव कमलप्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । परियारको अचानक सरुवाले अहिले रसुवाको प्रशासनिक वृत्तमा मात्रै होइन, बाढीपछिको राहत तथा पुनर्स्थापनाको जिम्मेवारी सम्हालिरहेका निकायमा समेत चासो बढाएको छ । नियमित सरुवाको सूचीमा परेनन्, बिदाको दिन एक्कासी आदेश केही दिनअघि मात्रै २३ जना सहसचिव तथा उपसचिवको नियमित सरुवा भएको थियो । तर, उक्त सरुवा सूचीमा परियारको नाम थिएन । नियमित सरुवामा नपरेका उनलाई एक्कासी आइतबार सार्वजनिक बिदाकै दिन गृह मन्त्रालय तानिएको हो । जिल्ला प्रशासन कार्यालय रसुवा स्रोतका अनुसार परियारलाई आइतबार साँझ सरुवाको पत्र प्राप्त भएको थियो । तर, त्यसभन्दा अघि नै दिउँसो नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा रसुवा आउन लागेका कमलप्रसाद पाण्डेले परियारलाई सम्पर्क गरेर आफू नयाँ सीडीओका रूपमा आउन लागेको जानकारी गराइसकेका थिए । विपद् व्यवस्थापनकै काममा व्यस्त रहेका परियारका लागि यो सूचना अप्रत्याशित बनेको स्रोतको भनाइ छ । एकातिर जिल्लामा बाढीले सिर्जना गरेको सङ्कट व्यवस्थापनको काम चलिरहेको थियो, अर्कोतिर आफूले सम्हालिरहेको प्रशासनिक जिम्मेवारी अचानक अर्को अधिकारीलाई हस्तान्तरण गर्नुपर्ने अवस्था आयो । परियारको सरुवाको औपचारिक कारण भने सार्वजनिक रूपमा स्पष्ट पारिएको छैन । राहत वितरणमा ‘एक द्वार प्रणाली’: यही बन्यो विवादको कारण