काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढी र पहिरोबाट प्रभावितका लागि जिल्ला प्रशासन कार्यालयले पनि सक्रियरुपमा कार्य गर्दै आएको छ। बाढीपीडितको खोज तथा उद्धार, राहत र पुन:स्थापनाका लागि काठमाडौँ प्रशासनले निरन्तर प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जानकारी दिए। उनका अनुसार पीडितलाई राहत संकलन, व्यवस्थापनदेखि अस्थायी बसोबासको प्रबन्ध र राहत वितरणसम्मका कार्य भएका छन्। बाढीपीडितका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंको पुरानो भवनमा तत्काल राहत सामग्रीहरुको संकलन थालिएको थियो भने सामाखुशी रानीवारीस्थित नेपाल प्रहरी विपद् उद्वार एवम् प्रतिकार्य तालिम केन्द्रको परिसरमा राहत सामग्रीहरुको संकलन केन्द्र सञ्चालनमा ल्याइएको थियो। त्यस्तै, सामाखुशी बसुन्धारास्थित राधास्वामी सत्संग व्यास नेपाल, सामाखुशी केन्द्रको भवन परिसरमा पनि प्रशासनले राहत सामग्री संकलन तथा व्यवस्थापनको प्रबन्ध गरेको थियो। काठमाडौँ प्रशासनले रसुवा बाढीबाट पीडित भएर काठमाडौँ आएकाहरूलाई बसोबास, आवश्यक खाद्यान्न, लत्ताकपडा र खाना पकाउने ग्याँसको व्यवस्थापन गरेकव छ। प्रजिअ पौडेलका अनुसार रसुवाबाढीबाट पीडित भएर विभिन्न स्थानमा आश्रय लिइरहेका २३ परिवारका १२२ जनालाई काठमाडौँमा आश्रय लिइरहेकाहरूलाई खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडासहित सहयोग गरिएको छ। त्यस्तै, बाढीबाट मृत्यु भएका २६६ जना शव काठमाडौँ ल्याइएकोमा २४ जनाको शव पहिचान भएर आफन्तले जिम्मा लिएका छन्। पहिचान नभएका शवहरूको व्यवस्थापन भइसकेको छ।