१६ वर्ष विदेशमा मजदुरी, गाउँ फर्किएर खोले होटलमा एक करोड लगानी

  • आइबार​ २१ भौ २०८३ ०६:४० PM
अर्घाखाँची। पाणिनि गाउँपालिका–७ अड्गुरीका इन्द्रबहादुर खनालले १६ वर्ष विदेश मजदुरी गर्दै बिताए। होटलमा काम गरे, सीप गरे। अब विदेशमा सिकेको सीपको सदुपयोग गर्दै उनले आफ्नै गाउँ फर्किएर होटल व्यवसाय सुरु गरेका छन्। विदेशमा कमाएको रकममध्ये एक करोड रुपैयाँ लगानी गरेर उनले अड्गुरीमा ‘अड्गुरी मम सेन्टर तथा लज’ सञ्चालनमा ल्याएका हुन्।  विदेशमा रोजगारीका क्रममा होटल व्यवसायमा संलग्न खनालले स्वदेश फर्किएपछि आफूले विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै गाउँमा प्रयोग गर्ने सोच बनाएका थिए। सुरुमा लाखौँ रुपैयाँ लगानी गरेर ‘अड्गुरी मम सेन्टर’ सञ्चालन गरेका उनले व्यवसाय विस्तार गर्दै अहिले एक करोड रुपैयाँ लगानीमा मम सेन्टर तथा लज सञ्चालनमा ल्याएका हुन्।  खनालका अनुसार गाउँमा व्यवसाय सञ्चालन गर्दा स्थानीयस्तरमै आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जना हुन्छ। बजारमा जाने गाउँको पैसा गाउँमै रोक्न सकिन्छ भन्ने उद्देश्यले आफूले व्यवसाय सुरु गरेको उनको भनाइ छ। “धेरै विदेश धाइयो, अलिअलि कमाइ भयो। विदेशको कमाइ भेलबाढी हो, धेरै टिक्दैन,” खनालले भने, “निरन्तर आम्दानीका लागि देशमै केही गर्नैपर्छ।” कमाएको पैसा यत्तिकै राख्नुभन्दा व्यवसायमा लगानी गर्दा त्यसबाट निरन्तर आम्दानी हुनुका साथै अरूलाई समेत रोजगारी दिन सकिने उनी बताउँछन्। “मैले एक करोड रुपैयाँ लगानी गर्दा घरपरिवार र छिमेकीलाई समेत काम पुगेको छ,” उनले भने, “काम भए कमाइ हुन्छ, कमाइ भए खर्च पुग्छ।” विदेशमा मानिसहरू व्यवसायप्रति आकर्षित भएको देखेर आफूले पनि स्वदेशमै सानो व्यवसाय सुरु गरेको खनालले बताए। गाउँमै व्यवसाय सञ्चालन गर्दा बाबुबाजेले जोडेको सम्पत्तिको सदुपयोग हुने, स्थानीयले रोजगारी पाउने र बसाइँसराइ रोक्नसमेत सहयोग पुग्ने उनको विश्वास छ। खनालले सुरु गरेको‘अड्गुरी मम सेन्टर तथा लज’को आइतबार प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा भुसालले व्यवसायमा निरन्तरता दिन सके क्रमिक रूपमा लाभ लिन सकिने बताए। व्यवसायी खनालको अनुभवबाट उद्यम गर्न चाहने युवाले पाठ सिक्नुपर्ने उनको भनाइ थियो। “हामी छोटो समयमा धेरै लाभ लिन खोज्छौँ,” भुसालले भने, “तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य राख्न सक्नुपर्छ। निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइन्छ।” उद्यममा जोडिन चाहनेहरूले सम्बन्धित क्षेत्रमा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्नेमा जोड दिँदै भुसालले राज्यले व्यवसायीका हकहित तथा समस्या समाधानका लागि कन्जुस्याइँ गर्न नहुने बताए। उनले कुनै पनि व्यवसाय सञ्चालन गर्न न्यूनतम सीप आवश्यक हुने भन्दै उद्यममा जोडिनुअघि आवश्यक लिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए।  कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले इन्द्रबहादुर खनाल व्यवसायी मात्र नभई अभियन्तासमेत भएको बताए। खनालबाट अन्य युवाले पनि सिकेर विदेशमा भन्दा स्वदेशमै लगानी गरी रोजगारी सिर्जना र आत्मनिर्भर बन्नतर्फ लाग्नुपर्ने उनको भनाइ थियो। खनाल छोटो समयमै अर्घाखाँची जिल्लामै उत्कृष्ट व्यवसायीका रूपमा सम्मानित भइसकेको पनि कोइरालाले बताए। पाणिनि गाउँपालिका–७ का वडाध्यक्ष गुनाखर अधिकारीले खनालले सञ्चालनमा ल्याएको व्यवसायले स्थानीयलाई रोजगारी दिनुका साथै स्थानीय उत्पादनको सदुपयोग र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए।  हाल खनालको व्यवसायमा उनको परिवारका चार जनासहित बाहिरी स्थानीय चार जना युवाले रोजगारी पाएका छन्। खनालले उत्पादन गर्ने मम लुम्बिनी प्रदेशका सबै जिल्लामा जाने गरेको बताइएको छ। उहाँले सञ्चालन गरेको व्यवसाय गुणस्तरीय र उल्लेखनीय रहेको स्थानीयको भनाइ छ।