काठमाडौं। भोटेकोशी बाढीमा परी विस्थापित भएर हाल काठमाडौँको मुस्ताङ समाज गुम्बामा आश्रय लिइरहेकाहरूलाई नेपाल तरुण दलले राहत उपलब्ध गराएको छ। तरुण दलका अध्यक्ष मनिष कोइरालासहित तरुण दलका नेताहरूले आइतबार स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १०० परिवारका लागि आवश्यक सामग्री वितरण गरेका हुन्। विपद्का कारण होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारलाई लक्षित गर्दै तरुण दलले आवश्यक सामग्री हस्तान्तरण गरेको हो। अध्यक्ष कोइरालासहित तरुण दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ। होल्डिङ सेन्टरमा रहेका १०० परिवारलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको तरुण दलले जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो। साथै, तरुण दलले आमाबुवा गुमाएका २० जना विद्यार्थीहरूको उच्च शिक्षासम्मको पढाइको जिम्मा लिने घोषणा समेत गरेको छ।