काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत तथा मानवीय सहयोग पुर्याउने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टीनिकट युवा संघ नेपालले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेको छ। युवा संघ नेपालका संयोजक धर्म बहादुर शाहीको नेतृत्वमा परिचालित टोलीले रसुवा तथा नुवाकोटका प्रभावित क्षेत्रमा पुगेर बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो। राहत वितरणका क्रममा टोलीले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा तत्काल आवश्यकताबारे जानकारीसमेत लिएको थियो। विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको युवा संघ नेपालले जनाएको छ। राहत वितरणसँगै प्रभावित क्षेत्रमा आवश्यक मानवीय तथा स्वयंसेवी सहयोगलाई निरन्तरता दिइने जनाइएको छ। विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा समेत युवा स्वयंसेवक परिचालन गरिने युवा संघ नेपालले जनाएको छ। प्रभावित क्षेत्रमा सरसफाइ, भग्नावशेष व्यवस्थापन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक श्रमदानका लागि स्वयंसेवक परिचालन गर्ने योजना रहेको छ। युवा संघ नेपालले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सम्बन्धित निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।