काठमाडौँ। नेपाल दलित मोर्चाको कोशी प्रदेश इन्चार्जमा नेत्र नेपाली सर्वसम्मत चयन भएका छन्। शनिबार इटहरीमा भएको मोर्चाको कोशी प्रदेशस्तरीय एकता बैठकले नेपालीको संयोजकत्वमा प्रदेश कमिटी चयन गरेको हो। कोशीका १४ वटै जिल्लाबाट नेता कार्यकर्ताको सहभागिता रहेको बैठकलाई मोर्चाको केन्द्रीय इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य गणेश विश्वकर्माले सम्बोधन गरेका थिए। बैठकमा नेकपाका कोशी प्रदेश सहइन्चार्ज परशुराम बस्नेत, केन्द्रीय सद्स्य तथा दलित मोर्चाका सह- इन्चार्ज तेजबहादुर मिजार, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री गोपी अछामी, कोशी प्रदेश सरकारकी राज्यमन्त्री सपना परियार, केन्द्रीय सदस्य तथा मोर्चाका सचिवालय सदस्य पदम विश्वकर्मा लगायत नेताहरूले सम्बोधन गरेका थिए। बैठकले नेपालीको संयोजकत्वमा २५३ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो। त्यस्तै, ८५ सदस्यीय सचिवालय र १७ सदस्यीय प्रदेश संयोजन समिति घोषणा गरिएको छ। एकता बैठकबाट घोषणा गरिएको प्रदेश कमिटीलाई प्रमुख अतिथि गणेश विश्वकर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। प्रदेश एकता बैठकले ९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै आगामी ३ महिने संगठन निर्माण तथा पुनर्जागरण अभियानको घोषणा गरेको छ।