गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, कहिले खुल्छ ?

  • आइबार​ २१ भौ २०८३ ०४:३९ PM
कालीकोट । शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार शनिबार साँझ करिब ६:२० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधनको आवागमन रोकिएको छ। नजिकैको एसमोडमा पनि पहिरो आएको जनाइएको छ। पहिरो पन्छाउन स्काभेटर घटनास्थलमा पुगिसकेको र काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण महताराले जानकारी दिए। उनका अनुसार हिजो दुवैतर्फका सवारीसाधन गन्तव्यमा पुगिसकेकाले आज यात्रा सुरु गरेका दुवैतर्फका सवारीसाधनलाई पहिरो पन्छाएपछि पास गराइनेछ। महताराका अनुसार पहिरो पन्छाएर आजै सवारीसाधन सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। यसैबीच, कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालीकोटले आग्रह गरेको छ। वर्षा भइरहेका बेला सडक माथिबाट पहिरो, ढुङ्गा तथा लेदो खस्ने सम्भावना रहेकाले जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन तथा सडकको अवस्था बुझेर मात्र यात्रा सुरु गर्न जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हिमबहादुर खत्रीले अनुरोध गरेका छन्। उनले रातिको समयमा यात्रा नगर्नसमेत आग्रह गरेका छन्।