काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई एक ढिक्का राख्न आफू तयार रहेको बताएका छन्। कांग्रेसभित्रको आन्तरिक विवाद र पार्टीको महाधिवेशनका विषयमा सभापति गगनकुमार थापासँग आइतबार दिउँसो १२:३० बजे भएको भेटमा कोइरालाले आफू पार्टीको एकताका लागि सबै त्याग गर्न तयार रहेको बताएका छन्। भेटका क्रममा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका बिषयमा कुराकानी भएको थियो। कोइरालाको सचिवालयका अनुसार भेटमा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको बिकल्प नरहेको बताएका थिए। जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए। भेटमा रसुवामा बाढीपछिको अवस्था, उद्धार र राहतका विषयमा समेत छलफल भएको थियो।