राष्ट्रिय सभाको महिला समन्वय समितिद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन

  • आइबार​ २१ भौ २०८३ १०:२५ AM
नुवाकोट । राष्ट्रिय सभाको महिला समन्वय समितिले नुवाकोटका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रभावित नागरिकको अवस्था, राहत तथा उद्धार व्यवस्थापन र पुनःस्थापनाका चुनौतीबारे जानकारी लिएको छ। समितिका संयोजक रेणु चन्द तथा सदस्यहरू विष्णु कुमारी सापकोटा र सम्झना देवकोटा सहितको टोलीले देवीघाट, चन्द्रज्योती होल्डिङ सेन्टर, आयुर्वेदिक अस्पताललगायतका स्थानमा पुगेर जेष्ठ नागरिकको व्यवस्थापन, स्वास्थ्य सेवा तथा आवश्यक स्वास्थ्य सामग्रीको अवस्थाबारे जानकारी लिएको हो। अनुगमनपछि समितिका संयोजक रेणु चन्दले स्थलगत अनुगमनबाट प्राप्त जानकारी तथा प्रभावित नागरिकका समस्या र आवश्यकतालाई समेटेर सरकारलाई जानकारी गराउने बताइन्।  उनले विपद्पछि तत्कालीन राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना, पूर्वाधार पुनर्निर्माण र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर सरकारका तर्फबाट प्रभावकारी समन्वय र आवश्यक पहल हुनुपर्नेमा माग गरिन्।  टोलीले बाढी तथा पहिरोका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापनको अवस्थाबारे समेत जानकारी लिएको थियो। साथै, कृष्ण प्रणामी मन्दिरको भवनमा सञ्चालन गरिएको जेष्ठ नागरिक होल्डिङ सेन्टरको निरीक्षण गर्दै त्यहाँ रहेका ज्येष्ठ नागरिकको अवस्था र आवश्यकताबारे जानकारी लिइएको थियो। त्यसैगरी, टोलीले विदुर बजार–ढुङ्गे हुँदै उत्तरतर्फका बाढी प्रभावित क्षेत्रसम्म प्रत्यक्ष पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा घरबारविहीन भएका प्रभावित परिवारको अवस्थाबारे जानकारी लिइएको समितिले जनाएको छ। टोलीले आर्मी क्याम्पभित्र संकलन तथा व्यवस्थापन भइरहेको राहत सामग्रीको अवस्था र सम्बन्धित पालिका तथा वडा हुँदै जिल्लास्तरसम्म राहत सामग्री वितरण तथा निर्यातमा देखिएका समस्या र चुनौतीबारे समेत जानकारी लिएको थियो। अनुगमनका क्रममा विदुर नगरपालिकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग भेट गरी राहत सामग्रीको संकलन, भण्डारण तथा वितरणमा देखिएका समस्या, समन्वयका चुनौती र तत्काल गर्नुपर्ने कामबारे छलफल गरिएको थियो। त्यस्तै, बाढीबाट घरबारविहीन भएका नागरिकको पुनःस्थापना, सुरक्षित बस्ती विकास तथा भवन निर्माण, क्षतिग्रस्त तथा विच्छेद भएका पुल र सडकको पुनर्निर्माण लगायतका दीर्घकालीन विषयमा समेत समितिले सम्बन्धित निकायसँग जानकारी लिएको छ।