बाढी प्रभावित महिला, बालबालिका र जोखिममा रहेकाको संरक्षणलाई प्राथमिकता दिन महिला मन्त्री बादीको निर्देशन

  • शनिबार २० भौ २०८३ १०:४८ PM
धादिङ । बाढीपछि विस्थापित नागरिकको राहत र उद्धारसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी तथा जोखिममा रहेका व्यक्तिको सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राख्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । मन्त्री बादीले धादिङका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै विपद्पछिको राहतलाई तत्कालीन उद्धारमा मात्र सीमित नगरी प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापनासम्म जोड्नुपर्ने बताइन् । उनले गजुरी गाउँपालिका-५ गलौंदीस्थित बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै बाढीबाट प्रभावित नागरिकको अवस्था, क्षतिको विवरण र तत्काल आवश्यक सहयोगबारे जानकारी लिइन् । उनले पृथ्वी राजमार्ग तथा आसपासका प्रभावित क्षेत्रको समेत अवलोकन गरी बाढीका कारण नागरिकको आवागमन, दैनिक जीवन र सार्वजनिक पूर्वाधारमा परेको असरबारे जानकारी लिइन् । अनुगमनका क्रममा मन्त्री बादीले फुर्के खोला होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावित नागरिकसँग भेट गरी उपलब्ध सेवा-सुविधाबारे जानकारी लिइन् । विपद्को समयमा सुरक्षित आश्रय स्थलमा रहेका नागरिकका लागि स्वास्थ्य, खाद्यान्न, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत आवश्यकता सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको उनले बताइन् । ‘विपद्को प्रभाव सबै नागरिकमा समान हुँदैन। महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अन्य जोखिममा रहेका व्यक्तिको सुरक्षा र संरक्षणलाई राहत व्यवस्थापनकै अभिन्न हिस्सा बनाउनुपर्छ,’ मन्त्री बादीले भनिन् । उनले अस्थायी आश्रय स्थलमा रहेका महिला तथा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउँदै जोखिम पहिचान गरी आवश्यकताअनुसार छुट्टै सुरक्षित व्यवस्था र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिन् । विपद्का कारण अभिभावकबाट छुट्टिएका वा जोखिममा परेका बालबालिकाको तत्काल पहिचान, सुरक्षित संरक्षण र पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि मन्त्री बादीले जोड दिइन् । बालबालिकालाई असुरक्षित वातावरणमा राख्न नहुने भन्दै उनले उनीहरूको संरक्षण आवश्यकताको मूल्याङ्कन गरी सुरक्षित तथा बालमैत्री व्यवस्थापन गर्न निर्देशन दिइन् । यसै क्रममा मन्त्री बादीले धादिङ जोड्ने पुल तथा आसपासका बाढी प्रभावित क्षेत्रको समेत निरीक्षण गरिन् । उनले नागरिकको आवागमन र अत्यावश्यक सेवा सहज बनाउन जोखिमयुक्त संरचनाको तत्काल व्यवस्थापन तथा क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनः स्थापनाका लागि सम्बन्धित निकायबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । मन्त्री बादीले नेपाल विद्युत् प्राधिकरण गजुरी सब स्टेसनको समेत निरीक्षण गरी बाढीपछि विद्युत् सेवा र विद्युत् पूर्वाधारको अवस्थाबारे जानकारी लिइन् । प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः स्थापना गर्दा नागरिकको सुरक्षा र जोखिमयुक्त संरचनाको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न उनले सम्बन्धित अधिकारीलाई आग्रह गरिन् । मन्त्री बादीले विपद् प्रतिकार्यलाई तत्कालीन राहत र उद्धारमा मात्र सीमित गर्न नहुने बताइन्। उनका अनुसार अहिलेको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षासँगै सुरक्षित आश्रय र आधारभूत सेवा सुनिश्चित गर्नु हो भने त्यसपछि क्षतिग्रस्त आवास, पूर्वाधार र सेवाको पुनः स्थापना गर्दै प्रभावित परिवारलाई दीर्घकालीन पुनर्स्थापनासँग जोड्नुपर्छ । प्रभावित नागरिकलाई सुरक्षित आवास, आधारभूत सेवा र जीविकोपार्जनका अवसरसँग जोडेर सम्मानजनक जीवनमा फर्काउने गरी पुनर्स्थापनाको योजना अघि बढाइने उनले बताइन् । सङ्घ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित सबै निकायबिचको समन्वयलाई थप प्रभावकारी बनाउँदै विपद्बाट प्रभावित कुनै पनि नागरिक संरक्षण र आधारभूत सेवाबाट वञ्चित नहुने व्यवस्था मिलाइने मन्त्री बादीको भनाइ छ ।