काठमाडौँ । नुवाकोटको विदुर-१० बेत्रावतीबाट ६४ वर्षीय चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएपछि प्रधानमन्त्री बालेन शाहले भोटेकोसी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई सरकारले सुरक्षित बसोबाससहित आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री शाहले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै चन्द्रिका श्रेष्ठको उद्धारले विपद्पछि पनि खोज तथा उद्धार कार्य निरन्तर भइरहेको र अझै जीवित नागरिक भेटिने आशा जगाएको बताएका हुन् । बाढीले ज्येष्ठ नागरिकसहित हजारौँ नागरिकको घर, जायजेथा र परिवार नै तहसनहस बनाएको उल्लेख गर्दै शाहले प्रभावित वृद्ध वृद्धाको पीडा असाधारण रहेको बताएका छन् । उनका अनुसार कतिपय ज्येष्ठ नागरिकले आफ्ना सन्तान तथा नातिनातिनालाई जोगाउन ज्यानको प्रवाह नगरी भागेर ज्यान बचाएका छन् भने कतिपयले आफ्नै आँखाअघि परिवारका सदस्य गुमाउनुपरेको छ । बाढीबाट नुवाकोटको देवी घाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवनसमेत क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई वैकल्पिक आश्रयमा सारिएको शाहले बताएका छन् । उनका अनुसार प्रतिष्ठानमा रहेका सात जना ज्येष्ठ नागरिकलाई काठमाडौँको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्ण प्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ । उनीहरूलाई हिँडडुलका लागि ह्विलचियर तथा वाकर उपलब्ध गराउनुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत दिइरहेको उनले बताएका छन् । प्रधानमन्त्री शाहले प्रभावित ज्येष्ठ नागरिकको अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर सुरक्षित स्थायी बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । ‘जीवनको यो कठिन मोडमा हजुरलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,’ शाहले भनेका छन् । उनले बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गर्दै आफन्त गुमाएका नागरिकको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । विपद्मा पीडितमाथि अनावश्यक टिप्पणी, हियाउने वा थप पीडा दिने गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत उनले दिएका छन् । बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीले जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धार जारी राखेको उल्लेख गर्दै शाहले उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको बताएका छन् । उनले प्रभावित ज्येष्ठ नागरिकलाई ‘देशका जग र मार्गदर्शक’ को संज्ञा दिँदै बाढीले उनीहरूको घर र जायजेथा बगाए पनि स्वाभिमान, अनुभव र मार्गदर्शनको महत्त्व समाप्त गर्न नसक्ने बताएका छन् । ‘हामीमाथि भरोसा राख्नुहोस्’ भन्दै शाहले विपद्बाट प्रभावित नागरिकलाई राज्यले साथ नछोड्ने सन्देश दिएका छन् ।