पत्रकारको नजरमा भोटेकोशी बाढी : सामाजिक सञ्जालको भयावह दृश्यभन्दा फरक छ वास्तविकता

  • शनिबार २० भौ २०८३ ०७:२६ PM
आशुतोष अर्याल पत्रकार पत्रकारले देखेको विपद्, पीडा र राज्य : ‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ काठमाडौं । सामाजिक सञ्जालमा देखिएका भोटेकोशी बाढीका तस्बिर र भिडियोले रसुवा र त्रिशूली आसपासका बस्तीमा ठूलो विपत्ति आएको संकेत गरिसकेको थियो । तर स्क्रिनमा देखिएको दृश्य र विपद्को प्रत्यक्ष अवस्थाको दूरी निकै फरक हुन्छ । यही फरक बुझ्न नेपाल न्यूज बैंकले बाढी गएको केही घण्टामै प्रभावित क्षेत्रमा पुगेका पत्रकार आशुतोष अर्यालसँग कुराकानी गरेको छ ।  जसमा बाढी प्रभावित क्षेत्रको फिल्ड रिपोर्टिङका क्रममा अर्यालले देखेको दृश्य केवल बगेका घर, पुरिएका सडक र भत्किएका पुलको कथा थिएन । त्यो मानिसले आफ्नो जीवनभर जोडेको सम्पत्ति गुमाएको पीडा, विस्थापनको अन्योल, राहतको प्रतीक्षा र राज्यसँगको अपेक्षाको कथा पनि थियो । बाढी गएको दिन अर्थात् भदौ १० गते दिउँसो करिब १ बजे अर्यालसहितको टोली काठमाडौं उपत्यकाबाट प्रभावित क्षेत्रतर्फ निस्कियो । नागढुंगाबाट तलतिर जाँदा प्रहरीहरूले जोखिमका कारण अगाडि नजान सुझाव दिएका थिए । तर प्रेस पास देखाउँदै रिपोर्टिङका लागि हिँडेको जानकारी गराएपछि टोली अघि बढ्यो । खानीखोला, महादेवबेँसी, गल्छीलगायतका स्थान पार गर्दै टोली धादिङको गल्छी गाउँपालिका–बैरेनी बजार पुग्यो । बैरेनीमा लेदोले घरहरू पुरिन थालेका थिए । सडकको अवस्था यस्तो थियो कि सामान्य सवारीसाधनबाट अगाडि बढ्न सम्भव थिएन । सडक निर्माणमा प्रयोग भइरहेको जेसीबी देखेपछि टोलीले त्यसैमा चढेर प्रभावित क्षेत्रसम्म पुग्ने अनुमति माग्यो । निर्माण व्यवसायीले अनुमति दिएपछि जेसीबीको बकेटमा बसेर टोली अगाडि बढ्यो । ‘मान्छेहरू डराएर माथिबाट तल आउँदै थिए । बल्लबल्ल ज्यान जोगाएको बताउँदै थिए । कतिपयले आफ्नो घरमा जमेको बालुवा हटाइदिन जेसीबी प्रयोग गरिदिन आग्रह गरिरहेका थिए,’ अर्याल सम्झन्छन् । कतिपय प्रभावितलाई त्यही जेसीबीको सहायताले सुरक्षित स्थानमा ल्याइएको थियो । उनीहरूको अवस्था एउटै थियो ज्यान जोगियो, तर सर्वस्व गुम्यो ।  घर डुबेको थियो । सामान पुरिएका थिए । खेतबारीमा लेदो भरिएको थियो । बस्ने ठाउँ थिएन । विपद्बाट जोगिए पनि अब कहाँ जाने भन्ने अन्योलले उनीहरूलाई सताइरहेको थियो । उनी भन्छन्,‘कतिपय प्रभावितलाई त्यही जेसीबीको सहायताले सुरक्षित स्थानमा ल्यायौँ । उहाँहरूको अवस्था एउटै थियो ज्यान त जोगियो, तर सर्वस्व गुम्यो । घर डुबेको थियो, सामान पुरिएको थियो, खेतबारीमा लेदो भरिएको थियो । बस्ने ठाउँ थिएन । ज्यान जोगिए पनि अब कहाँ जाने भन्ने अन्योल र त्रास उहाँहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो ।’ आफन्त खोज्दै पुलमा पुगेका मानिस बैरेनीबाट टोली नुवाकोटतर्फ अघि बढ्यो । त्रिशूली नदीमाथिको एउटा पुलबाट तल हेर्दा मानिसहरूको भीड देखिन्थ्यो । कोही बाढीको क्षति हेर्न आएका थिए, कोही आफन्तको खोजीमा थिए । ‘मेरो घर बग्यो, मेरो मान्छे भेटिएन, यहाँ कतै देखिन्छ कि भनेर खोजिरहेका मानिसहरू पनि भेटिए,’ अर्याल भन्छन् । स्थानीय जनप्रतिनिधि र प्रहरीसँग कुराकानी गर्दा उद्धारमा खटिएका सुरक्षाकर्मीले बाढीबाट मानिसहरूलाई कसरी जोगाइयो भन्ने जानकारी दिएका थिए । माइकिङ गरेर स्थानीयलाई सचेत गराइएको र जोखिममा परेकाहरूको उद्धार गरिएको उनीहरूले बताएका थिए । त्यसपछि टोली नुवाकोटतर्फ त्रिशूली हुँदै बेत्रावती र स्याफ्रुबेँसी जाने बाटोमा अघि बढ्यो । धादिङ र नुवाकोटको सीमामा पर्ने कोल्पुखोलाको पुलमा पुगेपछि टोलीले अर्को चुनौती सामना गर्नुप¥यो । त्रिशूली नदीमा आएको बाढीको प्रत्यक्ष प्रभावले कोल्पुखोलाको पुलसमेत बाङ्गिएको थियो । पुलमा प्रहरी तैनाथ थिए । सवारीसाधन आवतजावत रोकिएको थियो । स्थानीयले बाढीले बगाएर ल्याएका काठ र ढुंगामुढाको सहायताले जोखिमपूर्ण पुल पार गर्ने अवस्था बनाएका थिए । टोली पनि त्यही जोखिम मोलेर अघि बढ्यो । ‘जाँदा त गइयो, तर फर्किन पाइन्छ कि पाइँदैन भन्ने डर थियो । पुलमा केही भयो भने हामी त्यहीँ अड्किने अवस्था थियो,’ अर्याल सम्झन्छन् । तीनवटा शवले दिएको पीडा अर्यालका लागि सबैभन्दा कारुणिक दृश्य त्यही कोल्पुखोला क्षेत्रमा थियो । पुल नजिकै तीनवटा शव राखिएका थिए । प्रहरीहरूले शव सडकको छेउमा ल्याएर प्लास्टिकले छोपेका थिए । शवबाट रगत बगिरहेको थियो । तीमध्ये एक जना गर्भवती महिला भएको जानकारी टोलीले पाएको थियो । ‘पुलमा तीनवटा शव थिए । अंगभंग भएको अवस्थामा प्लास्टिकले छोपेर राखिएको थियो । रगत बगिरहेको थियो । त्यो दृश्य शब्दमा व्यक्त गर्न निकै कठिन हुन्छ,’अर्याल भन्छन् । उनका अनुसार पत्रकारका रूपमा दृश्य खिचेर सूचना प्रवाह गर्नु आफ्नो दायित्व भए पनि मानवताको हिसाबले ती शवलाई सुरक्षित स्थानमा पु¥याउन सहयोग गर्न पाए हुन्थ्यो भन्ने भावना बलियो थियो । तर त्यसबेला आफूहरूसँग आवश्यक साधन र अवस्था नभएकाले चाहेर पनि धेरै गर्न नसकेको उनी बताउँछन् । ‘मैंले जीवनमा पहिलोपटक त्यस्तो दृश्य देखेको थिएँ । त्यो क्षण निकै पीडादायी थियो,’ उनी सम्झन्छन् । उद्धार भयो, राहत ढिलो पुग्यो बाढीको प्रारम्भिक दिनमा संघीय सरकारको ध्यान मुख्यतः उद्धारमा केन्द्रित भएको अर्यालको अनुभव छ । स्थानीय तहहरूले भने आफ्नो क्षमताअनुसार राहत तथा अस्थायी व्यवस्थापन सुरु गरेका थिए । गल्छी गाउँपालिकाले बाढी गएको दिन नै कार्यपालिका बैठक बसेर प्रभावितलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ आपतकालीन राहत दिने निर्णय गरेको उनले बताए । बेलकोटगढी नगरपालिकाले घरबारविहीन तथा विस्थापित परिवारलाई विद्यालयमा अस्थायी रूपमा राख्ने तयारी गरेको थियो । तर प्रभावित बस्तीहरूमा राहत पुग्न भने केही दिन लागेको उनको अनुभव छ । ‘सुरुवाती दुई–तीन दिन प्रभावितहरूले खान पाएनौँ, अरूको घरमा बसेका छौँ भन्ने गुनासो गरिरहेका थिए । कतिपय गाउँमा पाँचौँ दिनपछि मात्रै राहत पुगेको अवस्था थियो,’ उनले भने । उनका अनुसार उद्धार र राहत व्यवस्थापनबीच समन्वयको कमी देखिएको थियो । केन्द्रबाट पठाइएको राहतको वितरणमा स्थानीय संयन्त्रलाई पर्याप्त रूपमा परिचालन गर्न नसकिएको हुन सक्ने उनको बुझाइ छ । ‘मिडिया आयो, अब हाम्रो कुरा सुनिन्छ’ भन्ने आशा विपद्को बीच प्रभावितहरूमा सञ्चारमाध्यमप्रति ठूलो अपेक्षा पनि देखिएको अर्याल बताउँछन् । काठमाडौंका सञ्चारकर्मी प्रभावित क्षेत्रमा पुगेपछि उनीहरू आफ्ना समस्या राज्यसम्म पुग्ने र राहत पाउने आशामा थिए । तर पछिल्लो समय सामाजिक सञ्जालमा भ्यूज र टीआरपीका लागि पीडालाई प्रस्तुत गर्ने प्रवृत्तिले मिडियाप्रतिको विश्वासमा असर पारेको उनले बताए । ‘कतिपय पीडितले यिनीहरू हाम्रो समस्या देखाउनभन्दा भ्यूजका लागि आएका हुन्, हामीले भनेका कुरा काटेर हाल्छन् भन्ने गुनासो गरेका थिए,’ उनले भने । उनका अनुसार सामाजिक सञ्जालमा बाढीका भयावह दृश्य तत्काल भाइरल भए पनि पीडितको वास्तविक जीवनको कथा भने ओझेलमा परेको छ । कसको घर थियो, कति पुस्तादेखि त्यहाँ बस्दै आएका थिए, कति जग्गा थियो, परिवारमा कति सदस्य थिए, उनीहरूको जीविकोपार्जनको आधार के थियो, बाढीले उनीहरूको आयआर्जनमा कति असर ग¥यो