काठमाडौँ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर भारतीय मूलका चार जना अष्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन् । रसुवाको धुञ्चेबाट मानसरोवर जाने क्रममा भारतीय मूलका चार जना अष्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका छन् । भारतको केरला राज्यबाट आफन्तको खोजी गर्दै रसुवा आएका रञ्जित श्रीधरणले आफ्ना चार जना आफन्त सम्पर्कविहीन भएकाले खोजी गरिदिनका लागि अनुरोध गरे । उनले आफ्ना हराइरहेका आफन्तको अन्तिमपटक मोबाइल ‘लोकेसन’ रोयल हिमालयन होटेल स्याफ्रुबेँसी देखिएको जानकारी दिए । “सम्पर्कविहीन भएका चारै जनाका बारेमा अझैसम्म कुनै पनि जानकारी प्राप्त गर्न सकिरहेका छैनौँ”, उनले भने, “आफ्ना आफन्तको अवस्थाका बारेमा जानकारी नहुँदा हामी विक्षिप्त भएका छौँ । आ-आफ्नो ठाउँबाट खोजी गरिदिनुहुनका लागि अनुरोध गर्दछौँ ।” नेपाल टेलिकम रसुवाका प्राविधिक नन्दकुमार कोइरालाले भारतीय मूलका अष्ट्रेलियन नागरिकको खोजी कार्यमा सहयोग गरिदिनुहुनका लागि सबैसँग अनुरोध गरेका छन् । “रसुवाको बाढीपछि सम्पर्कविहीन भएका अयर परिवारका आफन्त रसुवामा खोजी गर्दै आइरहेका छन्”, उनले भने, “हामीले स्थानीयस्तरमा आवश्यक खोजीको लागि सहजीकरण गर्दै आइरहेका छौँ ।”