अर्घाखाँची। सन्धिखर्क नगरपालिका–२ चुत्राबेँसीमा सुजन मार्ट आजदेखि सञ्चालनमा आएको छ। सन्धिखर्कमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका तथा भूमिकास्थान नगरपालिकाका संस्थापक नगर प्रमुखसमेत रहेका रेशम थापाका सुपुत्र सुजन थापाले मार्ट सञ्चालनमा ल्याएका हुन्। मार्टबाट निम्न तथा मध्यम वर्गका सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य तथा ग्रोसरी सामग्री होलसेल (सुपथ) दररेटमा खुद्रा रूपमा उपलब्ध गराइने सञ्चालक रेशम थापाले जानकारी दिए। उनका अनुसार अन्य पसल तथा मार्टको तुलनामा सस्तो दरमा गुणस्तरीय सामग्री उपलब्ध गराइनेछ। ग्राहकले मार्टमा आएर त्यसको अनुभव गर्न सक्ने उनले बताए। सञ्चालक सुजन थापाले पनि मार्टमा आउने ग्राहकलाई अन्य मार्टको तुलनामा सस्तो मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने र त्यसलाई निरन्तरता दिने बताए। ग्राहकको विश्वसनीयतालाई पहिलो प्राथमिकतामा राख्दै दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराइने उनले बताए। थापाले जिल्लामा लामो समयदेखि ‘सुजन सप्लायर्स’ मार्फत ग्राहकलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गर्दै व्यवसायिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन्। पछिल्लो समय युवाहरू स्वदेशमा भविष्य नदेखेर दिनप्रतिदिन वैदेशिक रोजगारीतर्फ गइरहेका बेला रेशम थापाले आफ्ना सुपुत्रलाई स्वदेशमै व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्दै करोडौँको लगानीमा उक्त मार्ट सञ्चालनमा ल्याएका हुन्।