अर्घाखाँची। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक स्थल अर्घा दरबार तथा भगवती मन्दिर परिसरमा शुक्रबार विशेष चहलपहल देखिएको छ। जन्माष्टमीका दिन मन्दिरमा पूजा–आराधनासँगै परम्परागत सांस्कृतिक झाँकी तथा लाखे नाच प्रदर्शन गरिएको छ। नागपञ्चमीदेखि सुरु भएको परम्परागत लाखे नाच जन्माष्टमीका दिन उत्कर्षमा पुग्ने गर्दछ। यस अवसरमा डर लाग्दो अनुहारका मुखौटा, रातो–पहेँलो वस्त्र र लामो कपालमा सजिएका लाखेहरू ढोल, झ्याली र मुजुराको तालमा नाच्दै सांस्कृतिक रौनक थपेका छन्। अर्घा भगवती मन्दिरमा प्रदर्शन गरिने लाखे नाच केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक सम्पदा मानिन्छ। जन्माष्टमीका अवसरमा मन्दिरमा दर्शन तथा पूजाआजाका लागि स्थानीयसँगै विभिन्न स्थानबाट भक्तजनसमेत पुग्ने गरेका छन्। ऐतिहासिक अर्घा दरबार र भगवती मन्दिर धार्मिक आस्था तथा ऐतिहासिक महत्व बोकेको क्षेत्रका रूपमा परिचित छन्। जन्माष्टमीमा हुने धार्मिक तथा सांस्कृतिक गतिविधिले यहाँको मौलिक परम्परा, सामाजिक सद्भाव र पुस्तौँदेखि चलिआएको सांस्कृतिक पहिचानलाई जीवन्त बनाउँदै आएको छ। लाखे नाचसँगै प्रस्तुत हुने विभिन्न सांस्कृतिक झाँकी र प्रदर्शनीले अर्घाको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा मनाइने यस्ता पर्वले नयाँ पुस्तालाई समेत मौलिक संस्कृति र परम्परासँग जोड्न सहयोग पुर्याउँदै आएका छन्।