‘गीताको अध्ययन र चिन्तन गर्दै श्रीकृष्ण जन्माष्टमी मनाए जीवन सार्थक हुन्छ’

  • शुक्रबार​ १९ भौ २०८३ ०६:०७ PM
काठमाडौँ । भगवान् श्रीकृष्णको दिव्य र मुख्य सन्देश गीता भएकाले यसको अध्ययन, चिन्तन, मनन् गरी व्यवहारमा उतारे मात्र श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको सार्थक हुनेमा जोड दिइएको छ । निरामयम् योग प्रतिष्ठानले आज यहाँ आयोजना गरेको श्रीकृष्णजन्माष्टमी महोत्सवमा धार्मिक क्षेत्रका विज्ञले गीताको अध्ययन गरी त्यसलाई जीवनशैलीका रूपमा उतार्न सकेमा मात्र जीवन सार्थक हुने धारणा व्यक्त गरे । कार्यक्रममा स्वामी नीलकण्ठले भगवत् गीता अध्ययन गरी त्यहाँ भनिएका विषयलाई जीवनशैलीका रूपमा नउतार्ने हो भने श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको सार्थक हुन नसक्ने बताए ।  गीता दर्शनका साधक डा मुरली अधिकारीले गीताको अध्ययन गरी त्यसलाई दैनिक जीवन र व्यवहारमा उतार्नु नै श्रीकृष्ण जन्माष्टमी पर्वको सार्थकता हुने बताए । प्रतिष्ठानका अध्यक्ष आचार्य देवेन्द्र घिमिरे र संस्थापक सदस्य सुरेन्द्र ओझालगायतले गीताको ज्ञान, योग, ध्यानलाई प्रवर्द्धन गर्ने उद्देश्यले संस्थाले काम गरिरहेको  जानकारी दिए । प्रतिष्ठानले अनलाइन माध्यमबाट दैनिक गीता ज्ञान पाठशालाका माध्यमबाट अध्यापन गराइरहेको पनि उनले सुनाए ।