काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सामाजिक सुरक्षा कोषका कर्मचारीले करिब १० लाख रुपैयाँ सहयोग गरेका छन् । सामाजिक सुरक्षा कोषले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कर्मचारीको पारिश्रमिकबाट कट्टा गरी नौ लाख ९८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । भदौ १० गते आएको बाढीबाट रसुवा लगायत भोटेकोसी नदीको तटीय क्षेत्रमा रहेका बजार, बस्ती तथा भौतिक पूर्वाधारमा ठुलो क्षति भएको भन्दै कोषले घटनाप्रति दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै कोषले घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्य लाभ र सम्पर्कविहीन नागरिकको सकुशलताको कामना गरेको छ । प्रभावित रोजगारदाता र श्रमिकका लागि छुट्टै कार्यदल बाढीबाट प्रभावित क्षेत्रमा सामाजिक सुरक्षा कोषमा सूचीकृत ३९ रोजगारदाता तथा त्यहाँ कार्यरत श्रमिकसमेत प्रभावित भएको कोषले जनाएको छ । घटनाबाट प्रभावित १५ स्थानीय तहभित्र ती रोजगारदाता तथा श्रमिक रहेको कोषको भनाइ छ । त्यसै गरी अन्य स्थानमा ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यक्षेत्र रहेका कोषमा आबद्ध रोजगारदाता तथा योगदानकर्ता पनि प्रभावित भएको जनाइएको छ । प्रभावित रोजगारदाता तथा योगदानकर्ताबाट निरन्तर फोन तथा पत्राचार आउन थालेपछि उनीहरूलाई आवश्यक सहजीकरण गर्न कोषले छुट्टै कार्यदल गठन गरेको जनाएको छ । प्रभावित रोजगारदाता तथा योगदानकर्ताले आफूलाई परेको प्रभाव र क्षतिको विवरण कार्यदलका संयोजक तथा कोषका निर्देशक उत्तम राज नेपाललाई उपलब्ध गराउन सक्नेछन् । त्यसका लागि तोकिएको नम्बर र इमेलमा विवरण पठाउन कोषले आग्रह गरेको छ । घाइते श्रमिकलाई उपचारदेखि अशक्तता पेन्सनसम्म कोषले प्राकृतिक विपद्बाट प्रभावित भएर घाइते भएका योगदानकर्तालाई उपचार, अङ्गभङ्ग भएका योगदानकर्तालाई अशक्तता पेन्सन तथा योगदानकर्ताको मृत्यु भएमा परिवारलाई आश्रित परिवार पेन्सनलगायतका सुविधा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने जनाएको छ । कोषमा आबद्ध भई नियमित योगदान गरिरहेका योगदानकर्ताले पाउने सामाजिक सुरक्षा सुविधाप्रति आफू प्रतिबद्ध रहेको पनि कोषले स्पष्ट पारेको छ । साथै, हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका रोजगारदाता तथा योगदानकर्तालाई समेत शीघ्र कोषमा आबद्ध भई नियमित योगदान गर्न आह्वान गरिएको छ ।