काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले आफ्नो ६४औँ स्थापना दिवस ‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ आज मनाउँदैछ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)२०२० साल भदौ १९ गते रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य तथा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध मानवीय संस्थाका रूपमा स्थापना भएको हो । सोसाइटीले स्थापनादेखि नै देशभर मानवीय सेवाका विभिन्न कार्य सञ्चालन गर्दै आएको छ । नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाका रूपमा रहेको नेपाल रेडक्रस सोसाइटीमा करिब १० लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा संलग्न छन् । सोसाइटीको हाल सात प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार ६२३ उपशाखा, ११५ सहयोग समिति तथा छ हजार ५८७ जुनियर तथा युवा सर्कलसहितको सङ्गठनात्मक संरचना रहेको छ । सोसाइटीका महामन्त्री ऋषिरमण खनालले स्थापना दिवसका अवसरमा सन्देश जारी गर्दै रेडक्रसले सरकारको सहयोगी संस्थाका रूपमा सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रसका सिद्धान्तको प्रवद्र्धन, स्वास्थ्य सेवा र रक्तसञ्चार सेवाजस्ता गतिविधि देशभर सञ्चालन गर्दै आएको बताएका छन्। उनका अनुसार सोसाइटीका यस्ता सेवामूलक तथा विकासमूलक कार्यक्रमबाट वार्षिक रूपमा ३५ लाख व्यक्ति लाभान्वित हुँदै आएका छन् । महामन्त्री खनालले यही भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको प्रतिकार्यमा पनि नेपाल रेडक्रस सोसाइटीले सुरुदेखि नै स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, राहत वितरण, मनोसामाजिक परामर्श तथा अस्थायी आवासलगायतका क्षेत्रमा सेवा पुर्याउँदै आएको जानकारी दिए। बाढी प्रतिकार्यअन्तर्गत हालसम्म एक हजार ४१८ त्रिपाल, एक हजार ५२० कम्बल, एक हजार ९३० शव व्यवस्थापन झोला, ७१५ म्याट्रेस र ८० वटा अस्थायी शौचालयलगायतका सामग्री वितरण गरिएको सोसाइटीले जनाएको छ । त्यस्तै, ५५ थान प्राथमिक उपचार बक्स, ७६० थान मर्यादा सामग्री, नौ हजार एन–९० फाइभ मास्क तथा ३९२ थान सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको छ । बाढी प्रतिकार्यका लागि नेपाल रेडक्रस सोसाइटीबाट झण्डै पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।