ललितपुर। हालै रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल मेडिसिटी अस्पतालले राहत तथा स्वास्थ्य सहयोग अभियान सञ्चालन गर्ने भएको छ। स्ट्याण्डिङ विथ नेपाल मानवीय अभियानअन्तर्गत नेपाल मेडिसिटीले मेडिकल पार्टनरका रूपमा लायन्स इन्टरनेशनल एमडी ३२५ नेपाल, खाल्सा एड इन्टरनेशनल र सुद च्यारिटी फाउण्डेसनसँग सहकार्य गर्दै प्रभावित परिवारहरूलाई आवश्यक राहत तथा स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ। यस अभियानसम्बन्धी आयोजित पत्रकार सम्मेलनमा प्रख्यात भारतीय अभिनेता तथा मानवतावादी व्यक्तित्व सोनु सूदको पनि सहभागिता रहेको थियो। कार्यक्रममा उनले विपद्को समयमा सबै मिलेर प्रभावित समुदायको सहयोगमा जुट्नु आवश्यक रहेको बताए। नेपालका बाढी प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै उनले समयमै राहत, सहयोग र मानवीय साथ पुर्याउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे। नेपाल मेडिसिटीले आफ्नो सामाजिक उत्तरदायित्व र समुदायप्रतिको प्रतिबद्धताअनुसार प्रभावित परिवारहरूका लागि आवश्यक राहत तथा स्वास्थ्य सामग्री संकलन गरिरहेको छ। यस अभियानमा अस्पतालका कर्मचारीहरू पनि सक्रिय रूपमा सहभागी भएका छन्। सहयोगका लागि चिकित्सा तथा स्वास्थ्य सामग्री, खाद्यान्न, अत्यावश्यक सामग्री, लत्ताकपडा, सरसफाइका सामग्री तथा दैनिक प्रयोगका आवश्यक वस्तुहरू संकलन गरिँदैछ। नेपाल मेडिसिटीले प्रभावित क्षेत्रमा मेडिकल रिलिफ क्याम्प सञ्चालन गर्ने तयारीसमेत गरेको छ। उक्त शिविरमार्फत प्रभावित समुदायलाई आवश्यक स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। पत्रकार सम्मेलनमा नेपाल मेडिसिटीको प्रतिनिधित्व गर्दै सिइओ डा