काठमाडौँ। सशस्त्र प्रहरीले बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १५ करोड ५० लाख जम्मा गर्ने निर्णय गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले बाढीमा परी ज्यान गुमाएका प्रहरी र उनका परिवारप्रति शोक व्यक्त गरेको छ। त्यस्तै, बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा निरन्तरता दिने निर्णय गरेको छ। बैठकले सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरुले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदार देखि जवान सम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्ने र सो रकमबाट सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट १५ करोड ५० लाख रकम योगदान गर्ने निर्णय गरेको छ। बैठकले बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा भने रकम कट्टा नगर्ने निर्णय गरेको छ।