तरकारीखेतीमा डडुवाका किसान : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

  • बिहीबार १८ भौ २०८३ ०७:५० AM
म्याग्दी। बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यस याममा ५० हजारको भेडे खुर्सानी (क्याप्सिकम) बिक्री गरे। दुई प्लास्टिक टनेलमा लगाएको भेडे खुर्सानी बिक्री गरेर ५० हजार आम्दानी भएको उनले बताए। भेडे खुर्सानी बिक्री गरेपछि गोलभेँडा र रायोसाग खेती गर्ने योजना रहेको उनको भनाइ छ। बसाइँसराइ, वैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव, बाँदरको समस्या र बढ्दो लागतका कारण खाद्यबाली खेती गर्न कठिनाइ हुन थालेपछि व्यावसायिक तरकारीखेतीबाट घरव्यवहार चलाउन सहज भएको ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारीको अनुभव छ। बेनी नगरपालिकाको माथिल्लो भेगमा पर्ने डडुवाका बासिन्दाले दशकअघिसम्म खेतबारीमा परम्परागत रूपमा धान, गहुँ, मकै र कोदो खेती गर्थे। आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको आयोजनामा कास्की र पर्वतमा व्यावसायिक तरकारीखेती भएका स्थानको अवलोकन भ्रमण गरेपछि डडुवाका किसानले खेती गर्ने शैली परिवर्तन गरेका हुन्। अगुवा कृषक मोहनबहादुर भण्डारीले सहकारीको अवलोकन भ्रमण डडुवावासीलाई व्यावसायिक तरकारीखेतीमा अग्रसर गराउने ‘टर्निङ पोइन्ट’ बनेको बताए। भ्रमणपछि तत्कालीन कृषि ज्ञान केन्द्रमार्फत तरकारीखेतीका लागि प्लास्टिक टनेल निर्माण कार्यक्रम आएको उनले बताए। “परीक्षणका लागि खेतमा बनाएको दुईवटा टनेलमा गोलभेँडाखेती सफल भएपछि अरू किसानले पनि खेती गर्न थाले”, उनले भने, “अहिले गाउँभरि करिब ५० वटा टनेलमा गोलभेँडाखेती भइरहेको छ।” किसानका अनुसार करिब रु ७५ हजार लागतमा तयार हुने प्लास्टिक टनेलबाट एक याममा रु एक लाख ५० हजारसम्म आम्दानी गर्न सकिन्छ। “पहिले तरकारी किनेर खाने डडुवा अहिले तरकारी बेचेर नगद भित्र्याउने भएको छ”, भण्डारीले भने, “२० जनाभन्दा बढी किसानले व्यावसायिक रूपमा तरकारीखेती गरेका छन्।” प्लास्टिक टनेलमा गोलभेँडासँगै यामअनुसार भेडे खुर्सानी, काँक्रो, सिमी, साग, मुला, गाजर, खुर्सानी र भन्टा लगायतका तरकारी खेती गरिन्छ। रोजगारीका सिलसिलामा करिब एक दशक बहराइनमा बिताएका भण्डारीले हाल नौवटा टनेलमा गोलभेँडाखेती गरेका छन्। डडुवामा ६५ घरधुरी भए पनि केही परिवार बसाइँसराइ गरेर बेनी तथा पोखरा बस्दै आएका छन्। गाउँमा रहेका अधिकांश परिवारले तरकारीखेती गरेका छन्। उत्पादित तरकारी बेनी र पोखरामा बिक्री हुने गरेको छ। पुलाचौर हुँदै डडुवा जोड्ने कच्ची सडकका कारण तरकारी ढुवानीमा समस्या हुने गरेको किसानको गुनासो छ। सिँचाइका लागि पानीको अभाव, प्राविधिक सहयोगको कमी र उत्पादनले उचित मूल्य नपाउनु पनि किसानका प्रमुख चुनौती हुन्। बजारमा ग्राहकले रु १२० प्रतिकिलोका दरले खरिद गर्ने गोलभेँडा डडुवाका किसानले आधा मूल्य अर्थात् रु ६० प्रतिकिलोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानले बताएका छन्। कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले डडुवा पछिल्लो समय तरकारीखेतीमा नमुना बन्दै गएको बताए। किसानलाई साना सिँचाइ कार्यक्रममार्फत पोखरी निर्माण, प्लास्टिक टनेल र यान्त्रिक हलोमा अनुदान सहयोग गरिएको उनले बताए। बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाले बेनीदेखि पुलाचौरसम्मको सडक पक्की बनिसकेको र यस वर्ष पुलाचौरदेखि नयाँगाउँ खण्ड स्तरोन्नति गर्ने तयारी भइरहेको बताए। उनका अनुसार बेनी नगरपालिकाको मात्र नभई जिल्लाभरका किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा पशुजन्य उपजको बजारीकरणका लागि बेनीमा कृषि बजार सञ्चालन गर्ने तयारी भइरहेको छ।