म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यले जलजला गाउँपालिका–३, पर्वत बेनीमा बुधबारदेखि नापजाँच सुरु गरिएको हो। समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जग्गा नापजाँचको काम सुरु भएको जानकारी दिए। 'वडा र गाउँपालिकाले प्रमाणित गरेका निवेदकको जग्गाको स्थलगत नापजाँच गर्न थालिएको छ', उनले भने, 'अन्य वडा र पालिकामा पनि यो काम अगाडि बढ्छ।' आवश्यक प्रतिवेदन तयार पारी जग्गा पहिचान, कित्ताकाट तथा सार्वजनिक जग्गा सरकारबाट व्यक्तिको नाममा हस्तान्तरण गर्न स्रेस्ता कायम गरिनेछ। त्यसपछि सम्बन्धित पालिकामै पुगेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्ययोजना बनाइएको छ। यसअघिका जिल्ला भूमि आयोगमा रहेका अभिलेख र निवेदनका आधारमा नापजाँचको काम थालिएको हो। एक हजार ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निवेदन स्थानीय तहबाट प्रमाणीकरण भएर समितिमा आएको नापी कार्यालय पर्वतका प्रमुख नापी अधिकृत दिनेश लामिछानेले बताए। 'जलजला गाउँपालिकाबाट ३४० जनाको निवेदन प्रमाणीकरण भएर आएको छ', उनले भने, 'नापजाँचसँगै समितिको कार्यादेश, क्षेत्राधिकार तथा मापदण्डका आधारमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरिएको छ।' नापजाँचपछि विधि, प्रक्रिया र मापदण्डअनुसार दिन मिल्ने जग्गा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने र दिन नमिल्ने सार्वजनिक जग्गा खाली गरी संरक्षण गरिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। स्थानीय यमुना परियारले करिब तीन दशकदेखि बस्दै आएको जग्गाको नापजाँच भएपछि लालपुर्जा पाउने आशा पलाएको बताइन्। 'जग्गाधनी प्रमाणपुर्जाको आशमा निवेदन दिएको वर्षौंपछि नापजाँच सुरु भएकामा खुसी लागेको छ', उनले भनिन्, 'लालपुर्जा पाउने आशा जागेको छ।'