हेटौँडा । भोटेकोसी बाढी पहिरोबाट सिर्जित विपद्को व्यवस्थापनसँगै हेटौँडा-काठमाडौँ जोड्ने वैकल्पिक सडक तत्काल सञ्चालनमा ल्याउने बागमती प्रदेश सरकारले निर्णय गरेको छ । बागमती प्रदेश सरकारका प्रमुख सचिव कमल भट्टराईको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले भीमफेदी-कोगटे-ईपा देउराली-सिस्नेरी मार्गको निर्माण कार्य तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्णय गरेको हो । भीमफेदी–कुलेखानी खण्डमा साँघुरो सडकका कारण बढ्न सक्ने यातायात चापलाई व्यवस्थापन गर्न उक्त मार्गलाई वैकल्पिक सडकका रूपमा प्रयोगमा ल्याउने सरकारको तयारी छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरसँग समन्वय गरी वैकल्पिक मार्गमा यातायात व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । यसै गरी हेटौँडा-काठमाडौँ जोड्ने भीमफेदी-देउराली-कुलेखानी-फाखेल-फर्पिङ र भीमफेदी-सिस्नेरी-छैमले-फर्पिङ सडक खण्डमा बढेको ट्राफिक चापलाई व्यवस्थित गर्न सम्बन्धित निकायबिच समन्वय गर्ने निर्णय भएको छ । यी सडक खण्डमा रहेका बेली ब्रिजको नियमित निरीक्षण गरी सञ्चालनयोग्य अवस्थामा राख्ने जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिइएको छ । सडकको अवस्था र बढ्दो यातायात चापलाई ध्यानमा राख्दै काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, धादिङ, मकवानपुर, चितवन र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तथा बागमती प्रदेश प्रहरी प्रमुखलाई आवश्यक ट्राफिक व्यवस्थापनका लागि निर्देशनसमेत दिइएको प्रदेश सरकारले जनाएको छ । यसका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले आवश्यक समन्वय गर्नेछन् । क्षतिको एकीकृत विवरण सङ्कलन गरिने भोटेकोसी बाढीका कारण प्रदेशमा भएको भौतिक पूर्वाधार तथा जनधनको क्षतिको एकीकृत विवरण सङ्कलन गर्न प्रदेश सरकारले उपसमिति गठन गरेको छ । प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ को दफा ३८ बमोजिम गठन गरिएको उपसमितिको संयोजकमा प्रदेश नीति तथा योजना आयोगका सचिव छन् । सदस्यहरूमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका दुवै सचिव छन् । प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका कोष नियन्त्रकलाई सदस्य सचिव तोकिएको छ । प्रदेश सरकारले विपद्पछि सञ्चालन गरेका खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका गतिविधि र प्राप्त तथ्याङ्कलाई पारदर्शी तथा व्यवस्थित बनाउन आधिकारिक डिजिटल प्लेटफर्ममा नियमित अभिलेखीकरण र सम्प्रेषण गर्ने निर्णयसमेत गरेको छ । निजामती सेवा दिवसमा विपद् केन्द्रित कार्यक्रम यस वर्षको निजामती सेवा दिवसलाई बागमती प्रदेशभर विपद् केन्द्रित कार्यक्रमसहित एक सातासम्म मनाउने निर्णय गरिएको छ । दिवसका अवसरमा जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् सचेतना तथा प्रतिकार्य योजनासम्बन्धी गोष्ठी, रक्तदान, शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै विपद् प्रभावितका लागि मनोसामाजिक परामर्शसहितको निःशुल्क स्वास्थ्य शिविर तथा विपद् केन्द्रित कर्मचारी राहत सङ्कलन कार्यक्रमसमेत आयोजना गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले विपद्को कठिन परिस्थितिमा नागरिकको सुरक्षा तथा प्रभावितको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रदेश सरकार निरन्तर क्रियाशील रहेको जनाएको छ ।