उदयपुर। ताप्ली गाउँपालिकाले रसुवाको भोटेकोशी बाढीबाट पीडितहरूको राहतका लागि १९ लाख ४० हजार ८२७ रुपैयाँ सहयोग गरेको छ। गाउँपालिकाको स्थानीय विपद् कोष, जनप्रतिनिधि, कर्मचारी र विद्यालयका शिक्षक तथा कर्मचारीहरूबाट एकमुष्ट १९ लाख ४० हजार ८२७ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले जानकारी दिए। उनका अनुसार गाउँपालिकाको स्थानीय विपद् कोषबाट ५ लाख रुपैयाँ सहयोग गरिएको छ। जनप्रतिनिधिहरूले १५ दिनको सेवासुविधा बराबरको १ लाख ६५ हजार ५ सय रुपैयाँ, कर्मचारीहरूको ५ दिनको तलब बराबरको ५ लाख ६६ हजार ३६० र शिक्षक तथा कर्मचारीहरूबाट ७ लाख ८ हजार ९६७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। बुधबार गाउँपालिकामा बसेको पदाधिकारी र कर्मचारीहरूको बैठकले राहतस्वरुप गाउँपालिकाका तर्फबाट एकमुष्ट सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विश्वकर्माले बताए। 'हाम्रो सानो सहयोगले बाढी प्रभावित क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने अपेक्षा गरेका छौँ, विपद्को समयमा सहयोग, समन्वय, ऐक्यबद्धता तथा सामुहिक हातेमालोको लागि सबै देशबासीहरूमा समेत आह्वान गर्दछौँ,' अध्यक्ष विश्वकर्माले भनेका छन्।