काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिएका छन्। बैठकमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश निर्वाचन एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ। साउदका अनुसार उक्त कार्यतालिकामाथि केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको र आवश्यक परिमार्जनपछि कार्यतालिका पारित गरिने छ । ‘यो कार्यतालिकामा केन्द्रीय समितिका साथीहरूले आफ्ना धारणाहरू राख्ने क्रम सुरु भएको छ। यो बैठक आजपछि पनि एक दिनको मात्रै होइन, फेरि पनि लगातार निरन्तर बस्छ। कति दिन बस्छ थाहा हुन्छ। सबै साथीहरूले आफ्ना धारणा राखेपछि आवश्यक परिमार्जनका साथ पारित हुन्छ,’ साउदले भने। उनका अनुसार १५औँ महाधिवेशनका लागि पुस १० गतेभित्र नवीकरण गरिएका क्रियाशील सदस्यतालाई मान्यता दिने प्रस्ताव गरिएको छ। नयाँ क्रियाशील सदस्यता वितरण हुन नसकेका स्थानमा वडाको सिफारिसका आधारमा नयाँ सदस्यता वितरण गरी क्षेत्रीय समितिमार्फत टुंग्याउने तयारी छ। साउदले कांग्रेसको संगठन अहिले विभाजित अवस्थामा रहेको स्वीकार गर्दै विभाजनका कारण कतिपय स्थानमा संगठनात्मक संरचना अपूर्ण रहेकाले केन्द्रीय प्रतिनिधि चयन गरी संयोजक तोकेर सम्बन्धित निकायलाई पूर्णता दिने तयारी रहेको बताए। कांग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू पार्टीका अन्य नेताहरूसँग निरन्तर संवादमा रहेको साउदले बताए। उनले शेखर कोइराला पक्षसँग पनि छलफल भइरहेको जानकारी दिए। ‘उहाँहरू हामी सबै एकै वैचारिक धरातलमा छौँ। उहाँहरूसँग हामी निरन्तर वार्ता, संवाद र छलफलमा छौँ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का समेतले अदालतमा मुद्दा दिनुभएको छ। अदालतमा जुन केस चलिरहेको छ, विचाराधीन मुद्दा छ, त्यसमा उहाँ पनि साथै हुनुहुन्छ,’ उनले भने। उनका अनुसार कांग्रेस दुई संरचनामा विभाजित नहोस् भन्ने उद्देश्यले विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वले तय गरेको महाधिवेशन कार्यतालिका रोक्न सर्वोच्च अदालतमा निवेदन दिइएको थियो। तर अदालतले उक्त कार्यतालिका रोक्ने निर्णय नगरेपछि अर्को पक्षले आफ्नो प्रक्रिया अघि बढाएको उनको भनाइ छ। ‘सर्वोच्च अदालतबाट त्यो निर्णय नभएको हुनाले उनीहरूले आफूले कन्टिन्यु गर्छु भन्नुभएको छ। अब पुनरावलोकनको मुद्दा चलिरहेको बेला एक पक्षले त्यसलाई निरन्तरता दिएपछि अब हामी पनि, जो वास्तविक १४औँ महाधिवेशनको नेतृत्व हो या निर्वाचित कार्यसमिति हो या गठित कार्यसमिति हो, त्यसको अभिभारा भनेको १५औँ महाधिवेशन गर्ने हो,’ साउदले भने। उनले यही जिम्मेवारी पूरा गर्न आफूहरूले नयाँ महाधिवेशन कार्यतालिका प्रस्ताव गरेको बताए।