कानुनले निषेध गरेका कुप्रथा न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण : प्रमुख कोइराला

  • बुधबार १७ भौ २०८३ १२:१६ PM
अर्घाखाँची। जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले कानुनले निषेध गरेका कुप्रथा अझै समाजमा जरा गाडेर रहनु चिन्ताको विषय भएको बताएका छन्। उनले हानिकारक परम्परा, कुप्रथा र गलत मूल्यमान्यता न्यूनीकरणका लागि सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने बताए।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउराली मन्दिर परिसरमा ‘सामाजिक न्यायका लागि रूपान्तरण अभियान’अन्तर्गत ‘हाम्रो साहस परियोजना’द्वारा आयोजित बहुसरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै प्रमुख कोइरालाले यस्तो बताएका हुन्। कार्यक्रम दलित महिला संघ र युएन वुमनको सहकार्य तथा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीको सहजीकरणमा सम्पन्न भएको हो। प्रमुख कोइरालाले कानुनले निषेध गरेका कुप्रथा अझै पनि समाजमा भित्रभित्रै कायम रहनु गम्भीर विषय भएको बताउँदै यस्ता हानिकारक सामाजिक मान्यता परिवर्तन गर्न भाषण मात्र नभई व्यवहारमै परिवर्तन आवश्यक रहेको उल्लेख गरे।  सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले ग्रामीण तथा पछाडि पारिएका समुदायमा सामाजिक न्याय र सशक्तीकरणका लागि समुदायका अगुवासँग छलफल तथा अन्तरक्रिया आयोजना गर्नु महत्वपूर्ण भएको बताए। समाजमा विद्यमान हानिकारक परम्परा न्यूनीकरण गर्न संस्थाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले स्थानीय सरकारको प्रमुख जनप्रतिनिधिका रूपमा यस्ता समस्या न्यूनीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए।  कार्यक्रममा हानिकारक परम्परा तथा समाजमा विद्यमान सामाजिक मूल्यमान्यताका विषयमा पत्रकार अनिल नेपालीले सहजीकरण गरेका थिए।  सो अवसरमा दलित महिला संघले महिलावादी अभियान, समावेशी सशक्तीकरण तथा जातीय, लैङ्गिक र अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्दै आएको जानकारी दिइएको थियो। संस्थाले समुदायसँगको सहकार्यमा विभिन्न परियोजना सञ्चालन गर्दै महिला सशक्तीकरण र दिगो विकासमा जोड दिँदै आएको जनाइएको छ। ‘हाम्रो साहस परियोजना’अन्तर्गत सामाजिक रूपमा हानिकारक मूल्यमान्यता न्यूनीकरण तथा लैङ्गिक समानताका लागि सामाजिक मूल्यमान्यता परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ। परियोजनाको मुख्य लक्षित वर्गमा महिला, दलित समुदाय र युवा रहेका छन्। परियोजनाको उद्देश्य सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्नु रहेको जनाइएको छ। वक्ताहरूले परम्परागत सोच र व्यवहारमा परिवर्तन ल्याउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए। न्यायबाट टाढा रहेका, बेसहारा अवस्थामा जीवन बिताइरहेका तथा अन्याय र हिंसामा परेका महिलालाई जीविकोपार्जनसँग जोड्न सबै पक्षको सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो। कार्यक्रममा नरपानी प्रहरी चौकीका प्रमुख रामसकल यादव, सुपादेउराली मन्दिर व्यवस्थापन समितिका सहसचिव कमल थापा, पूर्वसहसचिव कमल थापा तथा युवा अगुवा विवश थापालगायतले मन्तव्य राख्दै समाजमा रहेका हानिकारक परम्परा न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताए।