सुर्खेत । रोजगारीका लागि भारतमा रहेका कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुका चक्र दर्जी र डिल्ली दर्जीको मृत्यु भएको छ । भारतको उत्तराखण्ड अल्मोडा सोमबार राती आएको पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको हो । अविरल वर्षाका कारण उनीहरु बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । ‘रोजगारीको शिलसिलामा भारत उत्तराखण्डको अल्मोडामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो,’ उनले भने,‘शवको आवश्यक प्रक्रिया र ब्यवस्थापन गरि अल्मोडाबाट जन्मभूमि ल्याउने काम भइरहेको छ ।’ उनीहरु आफ्नो रोजिरोटी र छोराछोरीको पढाईलेखाईको लागि सुन्दर भविष्यको कल्पना गर्दै ज्याला मजदुरी गर्न छिमेकी मुलुक भारतमा जाने गरेको वडाध्यक्ष बोहोराले बताए । मृतक चक्रका ३ छोरा, श्रीमती, डिल्लीका १ छोरा २ छोरी र श्रीमती छन् । उनीहरुको मृत्युले गाउँमा अहिले शोकमग्न भएको स्थानीय शिक्षक चिन्तन नेपालीले बताए । उनीहरुको शव नेपाल ल्याउने काम भइरहेको र गाउँमा नै दांहसंस्कार गरिने उनले बताए।