बाढी प्रभावित स्थानीय तहलाई थप ६ करोड ७५ लाख अनुदान

  • बुधबार १७ भौ २०८३ ०६:१० AM
काठमाडौं। मनसुन प्रतिकार्य कमाण्ड पोप्टको बैठकले स्थानीय तहलाई थप ६ करोड ७५ लाख पठाउने निर्णय गरेको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा आज बसेको बैठकले रसुवा जिल्लाका उत्तरगया गाउँपालिकालाई ७५ लाख, गोसाइकुण्ड गाउँपालिका १ करोड, कालिका गाउँपालिकालाई ३० लाख र आमाछोदिङ्‌मो गाउँपालिकालाई २० लाख रकम पठाउने निर्णय गरेको हो।  त्यसैगरी, नुवाकोट जिल्लाका बिदुरलाई १ करोड ५० लाख, बेलकोटगढी नगरपालिकालाई ७५ लाख, किस्पाङ्ग गाउँपालिकालाई २५ लाख र तारकेश्वर गाउँपालिकालाई ५० लाख, धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकालाई ३० लाख, सिद्धलेक गाउँपालिकालाई २० लाख, गजुरी गाउँपालिकालाई २० लाख र बेनिघाट रोराङ्ग गाउँपालिकालाई २० लाख रकम पठाउने निर्णय पनि भएको छ।  अर्को प्रभावित जिल्ला गोरखाको गण्डकी गाउँपालिकालाई २० लाख, तनहुँ जिल्लाको देवघाट गाउँपालिका २० लाख र आँबुखैरेनी गाउँपालिकालाई २० लाख पठाउने निर्णय भएको छ। ती स्थानीय तहलाई क्षतिको आधारमा विपद व्यवस्थापन कोष संचालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप उक्त थप रकम पठाइएको हो।  यसअघि, भदौ ११ को बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३५ औं बैठकबाट ती स्थानीय तहलाई माथि उल्लेखित बराबरको रकम गरी कुल छ करोड पचहत्तर लाख उपलब्ध गराउने निर्णयअनुसार रकम विनियोजन भइसकेको छ।