त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँसमेत रहेन, पहिचान नखुलेका ८५ शवको अस्थायी व्यवस्थापन

  • मङगलबार १६ भौ २०८३ ११:२२ PM
काठमाडौँ । भोटेकोसीको विनाशकारी बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका ८५ जनाको शव अन्ततः अस्थायी रूपमा व्यवस्थापन गरिएको छ । क्षतविक्षत अवस्थामा रहेका शव थप सड्दै गएर दुर्गन्ध तथा महामारी फैलिन सक्ने जोखिम बढेपछि जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार ती शव व्यवस्थापन गरिएको हो । गत भदौ १० गते रसुवा, नुवाकोट र धादिङका भोटेकोसी तथा त्रिशूली नदी किनारमा आएको भीषण बाढीपछि विभिन्न स्थानबाट उद्धार गरिएका शव काठमाडौँको त्रिवि शिक्षण अस्पताल ल्याइएका थिए । आफन्त तथा परिवारजनले पहिचान गरेका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिएको छ । तर अस्पतालको मर्करीमा रहेका अधिकांश शव क्षतविक्षत अवस्थामा थिए । कतिपय शव पहिचान गर्नै नसकिने गरी अङ्गभङ्ग भएका थिए भने केही व्यक्तिका शरीरका छुट्टाछुट्टै अवयव मात्रै फेला परेका थिए । थप शव आउने क्रम नरोकिएपछि अस्पतालमा शव राख्ने स्थानसमेत अभाव हुन थालेको थियो । शव समयमै व्यवस्थापन नगर्दा सड्ने, दुर्गन्ध फैलिने तथा सङ्क्रमण र महामारीको जोखिम बढ्न सक्ने अवस्था देखिएपछि पहिचान नखुलेका ८५ शवलाई अस्थायी रूपमा सुरक्षित तवरले व्यवस्थापन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले जानकारी दिए । उनका अनुसार व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो खिचिएको छ । डिएनए परीक्षणका लागि मृत शरीरका अङ्गको नमुना सुरक्षित राखिएको छ भने प्रत्येक शवमा ‘बडी ट्याग’ समेत लगाइएको छ । यसको अर्थ पहिचान नखुलेका शवलाई परिवारबाट सधैँका लागि अलग गरिएको भने होइन । भविष्यमा डिएनए परीक्षणलगायत वैज्ञानिक पहिचानका आधारबाट मृतकको पहिचान खुलेमा हाल व्यवस्थापन गरिएको स्थानबाट शवको अवशेष सम्बन्धित परिवारलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गरिने प्रशासनले स्पष्ट पारेको छ । जिल्ला सुरक्षा समिति काठमाडौँले मङ्गलवार गरेको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ (संशोधन २०८३ सहित) को प्रावधानअनुसार शव व्यवस्थापन गरिएको हो । शव व्यवस्थापन प्रक्रिया संवेदनशील भएकाले त्यसमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल रेडक्रस सोसाइटी तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी (आईसीआरसी) का नेपालस्थित प्रतिनिधिले समेत पर्यवेक्षण गरेका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार शव व्यवस्थापन गर्दा अन्तर्राष्ट्रिय प्रोटोकल र राष्ट्रिय कार्यविधिगत व्यवस्थाको पालना गरिएको छ । प्रशासनले पहिचान गर्न नसकिएका शवको वैज्ञानिक परीक्षणका लागि आवश्यक आधार सुरक्षित राखिएकाले परिवारजनले पछि आफ्नो आफन्तको पहिचान गर्न सक्ने जनाएको छ । भोटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठुलो मानवीय क्षति पुर्‍याएको थियो । बाढीमा हराएका तथा मृत्यु भएकामध्ये धेरैको खोजी तथा पहिचान अझै चुनौतीपूर्ण बनेको छ । प्रमुख जिल्ला अधिकारी  पौडेलले बाढीजन्य विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । प्रशासनले पहिचान नखुलेका शवको व्यवस्थापन गरिए पनि उनीहरूको पहिचानको सम्भावना भने अन्त्य नभएको स्पष्ट पारेको छ । डिएनए नमुना, फोटो र बडी ट्याग सुरक्षित राखिएकाले भविष्यमा आफन्तसँग वैज्ञानिक रूपमा पहिचान मिलाउन सकिने प्रशासनको भनाइ छ ।