नवलपरासी पश्चिम। नारायणी नदीमा हालसम्म १७० शव फेला परेका छन्। तीमध्ये ६८ शवको व्यवस्थापन गरिएको छ भने बाँकी ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। फेला परेका शवबाट डीएनए नमुना संकलन गरी ६८ शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। शव व्यवस्थापन गरिएको स्थल सुनवल नगरपालिका क्षेत्रमा रहेको एक सामुदायिक वनमा छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापन गरिएको स्थलको निरीक्षण गरी शव पहिचानका लागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा तथा आफन्तसँगको समन्वय र सहजीकरणका विषयमा जानकारी लिएका छन्। प्रशासनका अनुसार नारायणी नदीमा फेला परेका शवमध्ये केहीको पहिचान भएको छ। पहिचान भएका व्यक्तिमा गोरखाको पालुङटार नगरपालिका–७ की २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका–६ मिलनटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका–९ घर भई नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २८ वर्षीय सविन राना रहेका छन्। त्यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का ४५ वर्षीय नारायणबहादुर थापा कब्दारको शव रसुवामा फेला परी पहिचान भएको थियो। उनका आफन्तले पोखराबाट शव बुझेर लगेका छन्। पाल्पाको तानसेन नगरपालिका–१० सुनडाँडाका प्रहरी सहायक हवल्दार दिपेन्द्र बिष्टको शव पनि रसुवामा फेला परी पहिचान भएको र आफन्तले बुझेर अन्त्येष्टि गरेको जनाइएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का ३७ वर्षीय यादव भण्डारीको शव पूर्वी नवलपरासीमा फेला परेको छ। बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरीको शव पनि पूर्वी नवलपरासीमा फेला परेको र उनका दाजु सुग्रिव थारूले पहिचान गरी बुझेका छन्। सोही स्थानमा फेला परेको बाँकेकै कोहलपुर नगरपालिका–११ का २८ वर्षीय महेश थारूको शव उनका ससुरा कालिराम थारूले पहिचान गरी बुझेको विवरणमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका अनुसार नारायणी नदीमा फेला परेका १७० शवमध्ये ६८ शवको व्यवस्थापन गरिएको छ भने ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको छ।