भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङः ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

  • मङगलबार १६ भौ २०८३ ०७:३५ PM
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भने, “हामीले प्रयास जारी राखेका छौँ, आशा मारेका छैनौँ । सुरुङको माथिल्लो भाग पत्ता लगाएर खोज तथा उद्धारको प्रयास गरिएको छ । राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन ।” गृहमन्त्री गुरुङले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि भएभरको संयन्त्र परिचालन गरिएको बताए । “सुरक्षा संयन्त्रले पूरा शक्तिका साथ काम गरिरहेको छ, त्रिशूली–३ ‘ए’ मा खोजीका लागि जाँदा दलदल थियो, एक्साभेटरसमेत डुबेको थियो”, उद्धारका प्रयासबारे जानकारी दिँदै उनले भने, “अहिले सुरुङको क्राउनसम्म पुग्न सफल भएका छौँ, विद्युत् गृहको माथिबाट खनेर जान सकिन्छ कि भनेर प्रयास गरिरहेको छौँ ।” सरकारले खोज तथा उद्धारका लागि विदेशी सहयोग लिन नचाहेको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको स्पष्टोक्ति थियो । “विभिन्न टनेलमा ड्रोन पनि पठाइएको छ । सुरुङभित्रको उद्धारको अझै पनि प्रयास जारी छ, अझै आशा बाँकी नै छ”, उनले भने, “सुरूङभित्र रहेका मानिस त्यहीँको पानी खाएर रहेको छ कि भन्ने आशा छ ।” उनले विपद्पछिको खोज, उद्धार र राहतका लागि उपलब्ध स्रोत साधनको उच्चतम् प्रयोग गरिएको जानकारी दिए । गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा ९ बजेर १५ मिनेटमा पूर्वसूचनाको एसएमएस पठाइएको जानकारी दिँदै त्यसलगत्तै सुरक्षाकर्मीले तटीय क्षेत्रमा सुरक्षित स्थानमा जान माइकिङ गरिएको जानकारी दिए ।