धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । आफ्नो प्रतिबद्धताअनुसार सेती प्रादेशिक अस्पतालको दोस्रो पटक अनुगमन गर्दै मुख्यमन्त्री भट्टले अस्पतालमा आउने कुनै पनि नागरिक सेवा लिनबाट वञ्चित हुन नहुने बताए । उनले अस्पतालमा उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहमा सुधार गर्न निर्देशन दिए । थप्नुपर्ने सेवा–सुविधाका विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने उनको भनाइ थियो। मुख्यमन्त्री भट्टले अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो। सेवा लिन आउने नागरिकले अनावश्यक ढिलासुस्ती र झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए । अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा समेत प्रदेश सरकारले ध्यान दिने मुख्यमन्त्री भट्टले बताए । उनले अस्पतालको समग्र व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए ।