भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११८१४ जनाको उद्धार, ३९१६ सम्पर्कबिहीन

  • मङगलबार १६ भौ २०८३ १२:३७ PM
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन्। फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन्। चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको जनाइएको छ। पहिचान हुन नसकेका शव तथा मानव अंगको विवरण नेपाल प्रहरीको विपद् सम्बन्धी पोर्टलमा उपलब्ध गराइएको छ। बाढी तथा विपद्का घटनामा हालसम्म २७९ जना घाइते भएका छन्। विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन् भने घाइतेको उपचारसम्बन्धी विवरण प्राधिकरणले आफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ। नेपाली सेनाले हालसम्म २ हजार ७४० जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको छ। प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ। नेपाली सेनाले हालसम्म ५७३ पटक हवाइ उडान गरेको छ। त्यसमध्ये मंगलबार मात्रै १२ उडान गरिएको छ। भदौ १४ र १५ गते रसुवा र नुवाकोटमा सशस्त्र प्रहरी बलले ५० वटा हवाइ उडानमार्फत राहत सामग्री ढुवानी गरेको थियो। निजी क्षेत्रबाट काठमाडौंमा आधारित हेलिकप्टरमार्फत हालसम्म २९ वटा उडान भएका छन्।