काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न तथा प्रत्यक्ष उद्धार र राहत कार्यमा सहभागी हुन सुनचाँदी व्यवसायी तथा सर्वसाधारणमा अपिल गरेको छ। महासंघका महासचिव निरबहादुर विक (विमल धमला) ले विपद्बाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै महासंघका पदाधिकारी तथा सदस्य, सातवटै प्रदेशका पदाधिकारी तथा सदस्य, आबद्ध संघसंस्थाका प्रतिनिधि, देश–विदेशमा रहेका सुनचाँदी व्यवसायी, कालिगड, कर्मचारी तथा समाजसेवीलाई सहयोगमा जुट्न आग्रह गरेका छन्। उनले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग, राहत सामग्री संकलन तथा उद्धार कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। विपद्को समयमा गरिएको सानो सहयोगले पनि जीवन बचाउन, पीडितको आँसु पुछ्न र प्रभावित परिवारमा आशा जगाउन सक्ने उनको भनाइ छ। महासचिव विकले विपद्को घडीमा मानवता, एकता र सहयोग नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा अपिल गरेका छन्।