नेपाल–चीन सीमावर्ती रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको भीषण बाढीपहिरोले रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत भोटेकोशी आसपासका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो। अचानक आएको विपद्ले घर, सडक, पुल, व्यवसाय तथा नागरिकका जीवनका आधारहरू तहसनहस बनायो। त्यसपछिका दिनमा बिहानदेखि रातिसम्म पीडितको उद्धार, राहत तथा स्वास्थ्य सेवाको तत्काल आवश्यकता झन् बढ्दै गयो। भदौ ११ र १२ गते सामाजिक तथा महिला अभियन्ता संस्कृति पुरीलगायत अभियानकर्मीसँग मिलेर राहत संकलन तथा सहयोग अभियानमा सक्रिय रूपमा सहभागी भएपछि भदौ १३ गते शनिबार मेरो आफ्नै आह्वान, अनुरोध तथा पहलमा बिहान ८ बजेदेखि राहत संकलन गरियो। अभियानलाई सफल बनाउन विभिन्न व्यक्ति तथा सहयोगी मनहरूबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री संकलन गरियो। काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीसँग आवश्यक समन्वय गरी करिब ११ वटा गाडीमार्फत सामग्री सहरी विकासमा जम्मा गरेर प्रभावित क्षेत्रतर्फ पठाउने व्यवस्था गरियो। राहत सामग्री संकलन गरेर मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैन भन्ने सोचका साथ राहत आफैँ प्रभावित क्षेत्रका नागरिकसम्म पुग्नुपर्छ भन्ने उद्देश्यले भदौ १४ गते आइतबार खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि तथा उपचार सामग्रीसहित तीनवटा गाडी लिएर नुवाकोट हुँदै रसुवाको उत्तरगया क्षेत्रतर्फ प्रत्यक्ष रूपमा प्रस्थान गर्यौँ। मसँगै मेरा मित्र किरण अधिकारी, डा