काठमाडौँ । नेकपा (बहुमत) भित्रको विवाद थप चर्किएको छ । पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा प्रवक्ता उदयबहादुर चलाउने ‘दीपक’लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् । कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा पार्टी विधानको भाग ५, धारा २७ बमोजिम दीपकलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ । पार्टीभित्र केही नेताले गैर जिम्मेवार ढङ्गले पार्टी विरोधी गतिविधि गर्दै आएको आरोप लगाउँदै कञ्चनले उनीहरूलाई समय–समयमा छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनाको प्रक्रियामा लगिएको दाबी गरेका छन् । तर त्यसका बाबजुद पार्टीलाई अर्थवादी दिशामा अघि बढाउने, गुटबन्दी तथा विखण्डन गर्ने र ‘निम्न पुँजीवादी अवसरवादी’ तथा ‘विसर्जनवादी’ प्रवृत्ति देखाएको आरोप कञ्चनले लगाएका छन् । पछिल्लो समय देश बाढी तथा विपत्तिमा परेको अवस्थामा राष्ट्रिय सम्मेलन स्थगित गरी पीडित जनताको उद्धार तथा राहतमा जुट्न पार्टी कार्यालयले गरेको अपिल र सर्कुलरविरुद्ध दीपकले वक्तव्यबाजी गरेको कञ्चनको आरोप छ । पार्टी कार्यालयलाई जानकारी नदिई पार्टीको नीति तथा विधि विपरीत गुटबन्दी र षड्यन्त्रपूर्ण ढङ्गले बैठकका लागि परिपत्र जारी गर्न दीपकले मुख्य भूमिका निर्वाह गरेको पनि वक्तव्यमा उल्लेख छ । कञ्चनले दीपकमाथि ‘अर्थवादी, षड्यन्त्रकारी, बितण्डतावादी, गुटवादी, विखण्डनकारी, निम्न पुँजीवादी अवसरवादी, अनैतिक एवं अराजकतावादी’ गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । यस्ता गतिविधिको भ्रममा नपर्न पार्टीका सबै केन्द्रीय सदस्यलाई केन्द्रीय कार्यालयले अपिल गरेको छ । यो निर्णयसँगै नेकपा (बहुमत) मा नेतृत्व विवाद झन् जटिल बनेको छ । सोमबार नै चलाउने पक्षले कञ्चनलाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सबै जिम्मेवारीबाट हटाइएको घोषणा गर्दै दीपकलाई अध्यक्ष मण्डलको अध्यक्ष चयन गरेको थियो । उक्त समूहले असोज पाँच गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरेको थियो । यसको केही समयमै कञ्चन पक्षबाट दीपकमाथि कारबाहीको घोषणा भएपछि नेकपा (बहुमत) भित्र कसले पार्टीको आधिकारिक नेतृत्व गर्ने भन्ने विवाद थप पेचिलो बनेको देखिएको छ ।