नेकपा (बहुमत)मा धर्मेन्द्र बास्तोला जिम्मेवारीबाट हटाइए, दीपक चलाउनेलाई जिम्मेवारी दिइयो

  • सोमबार १५ भौ २०८३ ०९:३८ PM
काठमाडौँ । नेकपा (बहुमत) भित्र नेतृत्व विवाद चर्किएको छ । पार्टीका विभिन्न जन वर्गीय सङ्गठन तथा मोर्चाका संयोजकले संयुक्त वक्तव्य जारी गर्दै निवर्तमान अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरिएको दाबी गरेका छन् । सोमबार बसेको नेकपा (बहुमत) केन्द्रीय समितिको विशेष  भर्चुअल बैठकले बास्तोलालाई जिम्मेवारीबाट हटाएर अध्यक्ष मण्डलको अध्यक्षमा दीपकलाई चयन गरेको संयुक्त वक्तव्यमा उल्लेख छ । साथै, आगामी असोज पाँच गते निर्धारित समयमै राष्ट्रिय सम्मेलन गर्ने निर्णयप्रति आफूहरूको ऐक्यबद्धता रहेको उनीहरूले जनाएका छन् । वक्तव्यमा बास्तोलाले एकल निर्णयबाट पार्टीको राष्ट्रिय सम्मेलन स्थगित गरेको तथा फरक मत राख्ने पार्टी नेतामाथि निरन्तर कारबाहीको वातावरण सिर्जना गरेको आरोप लगाइएको छ । पार्टी केन्द्रीय समितिको कोहलपुरमा सम्पन्न पाँचौँ पूर्ण बैठकमा पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरी अघि बढ्ने प्रस्ताव खारेज भएपछि बास्तोलाको सङ्गठनात्मक गतिविधि राष्ट्रिय सम्मेलन भाँड्ने उद्देश्यमा केन्द्रित भएको दाबी उनीहरूले गरेका छन् । बास्तोला लामो समयदेखि पार्टीभित्र अल्पमतमा रहँदै आएको दाबी गर्दै वक्तव्यमा उनका गतिविधिलाई ‘गैर–मार्क्सवादी’ तथा ‘पार्टी अनुशासन उल्लङ्घन’सँग जोडिएको छ । पार्टी विभाजनको प्रयास गरेको आरोपसमेत उनीमाथि लगाइएको छ । राष्ट्रिय सम्मेलनका लागि प्रस्तुत गरिएको फरक दस्ताबेज अस्वीकार गर्दै बास्तोला सैद्धान्तिक तथा वैचारिक बहसबाट पन्छिएको र पटक पटक राष्ट्रिय सम्मेलन स्थगित गरेर सम्मेलनबाट भागेको आरोप पनि वक्तव्यमा लगाइएको छ । ‘राष्ट्रिय सम्मेलनबाट भागेका धर्मेन्द्र बास्तोलाको भ्रममा नपर्न’ सम्पूर्ण पार्टी नेता-कार्यकर्ता, पत्रकार, शुभचिन्तक तथा समर्थकलाई उनीहरूले आग्रह गरेका छन् । संयुक्त वक्तव्यमा आगामी असोज पाँच गते राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ । वक्तव्यमा अखिल नेपाल किसान महासङ्घका संयोजक प्रविर, अखिल नेपाल जन सांस्कृतिक महासङ्घका संयोजक रोजन रखाल, अखिल नेपाल महिला सङ्गठनकी संयोजक अञ्जना तामाङ, अखिल (क्रान्तिकारी) का संयोजक वीरेन्द्र शाह, कम्युनिस्ट युवा सङ्गठन नेपालका संयोजक झलक विश्वकर्मा, अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्गठनका संयोजक लोकेन्द्र सार्कीलगायत १२ जन वर्गीय सङ्गठन तथा मोर्चाका संयोजक तथा पदाधिकारीले हस्ताक्षर गरेका छन् । वक्तव्यमा हस्ताक्षर गर्ने अन्यमा प्रगतिशील खेलकुद महासङ्घ नेपालका संयोजक विवेक दाहाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका कार्यकारी सदस्य दिनेश घिमिरे, जनक्रान्तिका घाइते तथा अपाङ्ग सङ्गठन नेपालका संयोजक शिव गौतम, तामाङ राष्ट्रिय मुक्ति मोर्चाकी संयोजक सुन्तली तामाङ, राई दनुवार राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक कुमार राई र माझी राष्ट्रिय मुक्ति मोर्चाका संयोजक भक्त माझी छन् ।