अर्घाखाँची। अर्घाखाँचीको पर्यटकीय स्थलको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउरालीमा केबलकार निर्माणका लागि सरोकारवाला र स्थानीयबीच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। सन्धिखर्क नगरपालिका–७ को सुपादेउराली पचासेदेखि मसिना लेखसम्म जोड्ने गरी केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको सुपादेउराली केबलकार प्रालिका अध्यक्ष बालकृष्ण शिवाकोटीले जानकारी दिए। उनका अनुसार स्थानीय रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनाउने तथा पर्यटकीय सौन्दर्यका दृष्टिले महत्वपूर्ण सुपादेउरालीमा आउने पर्यटकलाई जिल्लाको पहिचानसँग जोड्ने उद्देश्यले केबलकार निर्माण गर्न लागिएको हो। प्रस्तावित केबलकार समुद्री सतहबाट करिब एक हजार नौ सयदेखि दुई हजार एक सय मिटरको उचाइसम्म निर्माण हुनेछ। आयोजनामा १४ वटा टावर र १७ वटा डिब्बा रहनेछन्। केबलकार निर्माणका लागि करिब रु एक अर्ब ८० करोड लागत अनुमान गरिएको अध्यक्ष शिवाकोटीले बताए। सञ्चालक तथा स्थानीय खेमप्रसाद घिमिरेले सुपादेउरालीमा आउने पर्यटकलाई सुरक्षित बासस्थानसहित जिल्लाका अन्य पर्यटकीयस्थलसँग जोड्न र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर स्थानीयवासीलाई आत्मनिर्भर बनाउन केबलकारले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार स्थानीयलाई प्राथमिकतामा राखी शेयर लगानीको वातावरण सिर्जना गरिनेछ। आयोजनामा स्थानीय ५० देखि ६० जना युवालाई प्रत्यक्षरूपमा जोड्ने योजना रहेको उनले बताए। कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सुपादेउराली पर्यटकीय तथा अन्य दृष्टिले समेत महत्वपूर्ण क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई जिल्लाको पहिचानसँग जोडेर सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए। उनले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिँदै लागत साझेदारी र स्थानीय सहभागिताबाट मात्रै आयोजना सम्भव हुने बताए। केबलकार निर्माणमा लगानी गर्न बालकृष्ण शिवाकोटीलगायतको समूह इच्छुक रहेकाले सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। यस्तो बन्दैछ केबलकार केबलकारमा पहिलो चरणमा आठ जना यात्रु बस्न सक्ने १७ वटा डिब्बा सञ्चालनमा ल्याइनेछ। यात्रुको चाप बढ्दै गए आवश्यकताअनुसार डिब्बा थप गर्दै लैजाने कम्पनीको योजना छ। केबलकारको यात्रा करिब सातदेखि १० मिनेटको हुने र यात्राका क्रममा हिमाली दृश्य तथा वरपरका मनोरम भू–दृश्य अवलोकन गर्न सकिने प्राविधिक इन्जिनियर गणेश पाठकले बताए। उहाँका अनुसार केबलकारबाट सुपादेउराली मन्दिरसँगै तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिनेछ। साथै चिल्ड्रेन पार्क, कफी सप, विभिन्न मनोरञ्जनात्मक खेल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना रहेको छ। उद्गमस्थलदेखि गन्तव्यस्थलसम्म जीपीएस प्रणालीसहितको प्राविधिक अध्ययन तथा मार्किङको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आयोजना अगाडि बढाइने उनले जानकारी दिए। स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभान्वित हुने गरी आयोजना अगाडि बढाइने वातावरणीय विज्ञ सरोज नेपालले बताए। स्थानीय जनताको प्रत्यक्ष लागत सहभागिता सुनिश्चित गरेर त्यसका आधारमा वातावरणीय अध्ययन तथा प्रतिवेदन तयार गरी आयोजना अगाडि बढाइने उनको भनाइ छ। दुई वर्षमा कानुनी प्रक्रिया पूरा गर्ने योजना सुपादेउराली केबलकार प्रालिका अनुसार स्थानीय जनताको सहभागिता र प्रत्यक्ष लागत साझेदारीमा आयोजना अगाडि बढाइनेछ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी आगामी दुई वर्षमा आयोजनाको कामलाई गति दिने कम्पनीको योजना छ। सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले अर्घाखाँचीका लागि केबलकार नयाँ र नौलो परियोजना भएकाले यसको सफलताका लागि सबै पक्षको महत्वपूर्ण भूमिका रहने बताए। उनले सुपादेउरालीलाई नेपालका साथै भारतलगायत अन्य देशबाट आउने पर्यटकका लागि समेत आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। बाह्य पर्यटकलाई आकर्षित गर्न सके यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।