विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्री यादवको निर्देशन

  • सोमबार १५ भौ २०८३ ०६:३४ PM
काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन्। ठूला–ठूला गोदाममै पुगेर अनुगमन गर्न यादवले निर्देशन दिएकी हुन्। सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपद्को समयमा बजारमा कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने गतिविधि कुनै पनि हालतमा सह्य नहुने बताएकी छन्। नेपालमा पछिल्लो समय ठूलो बाढीपहिरो तथा प्राकृतिक विपद्को अवस्था रहेकाले यही परिस्थितिको फाइदा उठाउँदै बजारमा मनलाग्दी मूल्य बढाउने प्रवृत्ति देखिन सक्ने भन्दै उनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन्। बजार अनुगमनलाई विशेष प्राथमिकताका साथ अघि बढाउन मन्त्रालयले पहिलोपटक १६ वटा अनुगमन टोली गठन गरेको छ। ती टोलीले दैनिक रूपमा बजार अनुगमन गरी त्यसको प्रतिवेदन मन्त्री यादवसमक्ष बुझाउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री यादवले अनुगमनका क्रममा उपभोक्तामाथि ठगी, कालोबजारी वा अत्यधिक मूल्यवृद्धि गरेको पाइएमा कसैको दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन निर्देशन दिएकी छन्।  कसैलाई ‘मेरो मान्छे हो’ भनेर जोगाउने प्रयास नगरी दोषी देखिए जोसुकैलाई समान रूपमा कानुनी कारबाहीको दायरामा ल्याउन उनले निर्देशन दिएकी छन्। मन्त्री यादवले विगतका सरकार तथा अनुगमन प्रणालीमा देखिएका कमजोरी दोहोरिन नदिन कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिँदै प्रभावकारी अनुगमनका लागि बलियो टोली आवश्यक रहेको बताएकी छन्। उनले अहिले गठन गरिएका १६ वटा टोलीले बजारमा देखिएको मनलाग्दी मूल्यवृद्धि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन्।