परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

  • सोमबार १५ भौ २०८३ ०५:४२ PM
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेशमन्त्री डा भिभियन बालकृष्णनबीच आज टेलिफोन वार्ता भएको छ ।   सिङ्गापुरका विदेशमन्त्री डा बालकृष्णनले परराष्ट्रमन्त्री खनाललाई बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले बताएको छ । वार्ताका क्रममा मन्त्री डा बालकृष्णनले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनका क्रममा नेपाली अधिकारीहरुले समन्वयकारी भूमिकासहित छिटोछरितो ढङ्गबाट गरेको कामको प्रशंसा गरे । उनले नेपालको आवश्यकताका आधारमा सिङ्गापुर सरकार मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताए । सिङ्गापुरले जारी खोज तथा राहत कार्यमा सहयोग पुर्‍याउन विपद् पीडित पहिचान टोली र ड्रोन सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।  वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए । उनले बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर भइरहेको बताएका थिए । मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकामा सिङ्गापुर सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन् । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा यही भदौ १० गएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उनिहरुबीच उक्त टेलिफोन वार्ता भएको हो ।