भवानी भट्ट / टोकियो नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद् बाट भएको जनधनको क्षतिप्रति जापानमा रहेका नेपाली व्यवसायी टीका श्रेष्ठले दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि २१ लाख जापानी येन सहयोग गरेका छन्। श्रेष्ठले अगस्ट ३१, २०२६ मा येहे रेमिटमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (प्रधानमन्त्री राहत कोष) मा उक्त रकम पठाएका हुन्। उपलब्ध कारोबार विवरणअनुसार रकम स्थानान्तरणबापत कुनै शुल्क नलिइएको उल्लेख छ। भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रका नागरिकको पीडामा साथ दिन गरिएको उक्त सहयोगबाट उद्धार, राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने विश्वास गरिएको छ। पूर्ण ट्रेडिङ जापानले जारी गरेको प्रेस विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित तथा विस्थापित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरिएको छ। विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको आह्वानअनुसार सहयोग गरिएको जनाउँदै पूर्ण ट्रेडिङ जापानले विगत १३ वर्षदेखि नेपाली उत्पादनलाई जापानी बजारमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको जनाएको छ। विपद्को समयमा उद्धार तथा राहतमा खटिरहेका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघ–संस्था तथा स्वयंसेवकहरूप्रति पनि पूर्ण ट्रेडिङ जापानले सम्मान व्यक्त गरेको छ। देशमा विपद् परेको बेला हामी विदेशमा भए पनि आफ्नो देश र आफ्ना नागरिकको दुःखमा सकेको सहयोग गर्नु हाम्रो जिम्मेवारी हो, श्रेष्ठले भने। उनले जापानलगायत विश्वका विभिन्न मुलुकमा रहेका नेपाली, व्यवसायी, संघ–संस्था तथा सहयोग गर्न इच्छुक सबैलाई आ आफ्नो क्षमता र क्षेत्रअनुसार बाढीपीडितको राहत तथा उद्धारमा सहयोग गर्न आग्रह गरेका छन्। मेरो यो सहयोगले अरू नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई पनि आफ्नो क्षमताअनुसार बाढीपीडितको सहयोगमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने मेरो चाहना हो,श्रेष्ठले बताए। जापानमा नेपाली उत्पादनको बजार विस्तारमा सक्रिय पूर्ण ट्रेडिङ जापानले ‘हाईलाइफ’ लगायत नेपाली उत्पादनलाई जापानी बजारमा प्रवर्द्धन गर्दै आएको छ। व्यावसायिक गतिविधिसँगै विपद्को समयमा गरिएको यो सहयोगले प्रवासमा रहेका नेपालीलाई मातृभूमिको पीडामा साथ दिन प्रेरित गर्नुका साथै प्रधानमन्त्री राहत कोषमा थप सहयोग जुट्ने वातावरण बन्ने अपेक्षा गरिएको छ। श्रेष्ठले सहयोग रकम पठाएको कारोबार विवरणसमेत प्रमाणका रूपमा उपलब्ध गराएका छन्।