पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

  • सोमबार १५ भौ २०८३ ०१:३० PM
रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको छ ।  भोटेकोशी नदीमा यही भदौ १० गते आएको अकल्पनीय विनाशकारी  बाढीका कारण विगत  पाँच दिनदेखि  जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ ।  रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी)का सहयोगमा नेपाल रेडक्रस सोसाइटीले  ‘जेनेरेटर’ यहाँ ल्याएको हो ।    विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयवासी सहित धुन्चे रहेका बाढी पीडित र तीर्थालुहरु  आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको थियो ।   यसका लागि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगङ्गा आँखा केन्द्रले संयुक्त पहल गरेका थिए । सदरमुकाम धुन्चेमा ‘जेनेरेटर’ ल्याइएसंगै निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ । अहिले १०० भन्दा बढीले एकसाथ मोबाइल चार्ज गरिरहनुभएको नेपाल रेडक्रसले जनाएको छ । यसबाट टाढा रहेका आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने सन्देश पठाउन सहज बनेको छ ।  सदरमुकाममा जेनेरेटरमार्फत मोबाइल चार्ज गर्न पाउँदा स्थानीयवासी तथा टाढा–टाढाबाट आएका सेवाग्राहीलाई  राहत मिलेको छ । चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले आफ्ना आफन्तहरूसँग पुनः सम्पर्क स्थापित गर्न सफल भएका छन् ।  एकजना बाढीप्रभावितले भने “फोनकलले टुटेको आशालाई जोडेको छ, चिन्ताले भरिएका मनलाई सान्त्वना दिएको छ ।” बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिरहेको र चाँडै सेवा सुचारु गराउन पहल भइरहेको जनाइएको छ ।