काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँभन्दा बढी सहयोग रकम जुटाउने पहल लिएको छ। इप्पानको आग्रहमा देशभरिबाट विभिन्न जलविद्युत उत्पादकहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराइरहेका छन्। इप्पानले आफ्नो कोषबाट एकमुष्ट ५ करोड ५ लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ भने इप्पानसम्बद्ध जलविद्युत उत्पादकहरूका तर्फबाट समेत गरी कम्तीमा १० करोड रुपैयाँ राहत सहयोग जुटाउने उद्देश्य लिइएको इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताए। उनका अनुसार विपद्को घडीमा निजी क्षेत्रका विद्युत् उत्पादकहरूले उदारतापूर्वक सहयोग गरेपछि हालसम्म आठ करोड १९ लाख सहायता रकम संकलन भइसकेको छ। सोमबारसम्म सहयोग रकम १० करोडभन्दा बढी पुर्याउने गरी इप्पानले पहल गरिरहेको छ । निजी क्षेत्रका ऊर्जा उत्पादक तथा व्यवसायीहरूबाट प्राप्त सहयोगलाई एकीकृत गरी विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको हो । संकलित सहयोग रकम सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेक तथा भौचर हस्तान्तरण गर्ने कार्यक्रम रहेको इप्पानले जनाएको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको तथा जलविद्युत् आयोजनासमेत प्रभावित भएका बेला निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले राहत तथा उद्धारमा सहयोग जुटाउँदै आएका छन् । इप्पानले विपद्बाट प्रभावित आयोजना क्षेत्रमा कार्यरत कर्मचारी, मजदुर, उनीहरूका परिवार तथा स्थानीय बासिन्दाको उद्धार र राहतमा समेत सक्रियता देखाउँदै आएको छ ।