सन्धिखर्क–७ मा वडाध्यक्षको पहल : ज्येष्ठ नागरिक र अशक्तलाई घरदैलोमै सेवा

  • आइबार​ १४ भौ २०८३ ०८:४३ PM
अर्घाखाँची। सन्धिखर्क नगरपालिका–७ ले वडा कार्यालयसम्म पुग्न समस्या हुने ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ। वडाध्यक्ष चुरा बहादुर केसीले सरकारी सेवा नागरिकले सहज रुपमा पाउनुपर्ने भन्दै वडा कार्यालयका कर्मचारीलाई टोल-टोलमा खटाउँदै आएका छन्। उनकाअनुसार पहिलो चरणमा भालुखोलालगायतका स्थानमा पुगेर नवीकरण सेवा प्रदान गरिएको छ।  आइतबारदेखि सुरु भएको अभियान क्रमशः वडाका विभिन्न टोलमा सञ्चालन गरिने उनले बताए। भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता लाभग्राहीले आफ्नो विवरण नवीकरण गरिसक्नुपर्ने भएकाले समयमै सेवा लिन वडा कार्यालयले आग्रह गरेको छ।  टोलसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अशक्त तथा असहाय लाभग्राहीका लागि समेत वैकल्पिक व्यवस्थामार्फत नवीकरणमा सहजीकरण गरिने अध्यक्ष केसीले बताए। वडाले घर तथा टोलमै पुगेर सेवा दिन थालेपछि स्थानीय लाभग्राहीले सेवा सहज भएको भन्दै खुसी व्यक्त गरेका छन्।  वडा सचिव सीता बिसी पराजुलीलगायत वडा सदस्य पुष्पा नेपाली, कर्मचारी माया भट्टराईलगायत जनप्रतिनिधि तथा कर्मचारीले अभियानमा सहजीकरण गर्दै आएका छन्। अध्यक्ष केसीका अनुसार हालसम्म ५० जना सेवाग्राहीले सेवा लिएका छन्। नयाँ आर्थिक वर्ष सुरु भएसँगै वडाध्यक्ष केसीले भदौ महिनामा वडाका विभिन्न टोलमा अभियान सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता लाभग्राहीको कार्ड नवीकरण गर्ने कामलाई प्राथमिकता दिएका हुन्।  विशेषगरी वृद्धवृद्धा, अशक्त तथा सहाराविहीन नागरिकलाई वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता हटाउने उद्देश्यले टोल तथा घरमै पुगेर सेवा प्रदान गरिएको उनले बताए।  ‘वृद्ध बुबाआमा वडा कार्यालयसम्म आउन नसक्ने हुनुहुन्छ। कतिपय वृद्धवृद्धा सहाराविहीन नै हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले टोलमै पुगेर सेवा दिएको छु। हिँड्न नसक्ने अशक्त वृद्ध बुबाआमालाई घरमै पुगेर सेवा दिने गरेको छु।’ वडामा रहेका अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा दलित समुदायका पाँच वर्षमुनिका बालबालिकाको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरणसमेत टोल तथा घरमै पुगेर गरिएको उनले बताए।  सामाजिक सुरक्षा भत्ता लिनसमेत नागरिकलाई सहज बनाउने उद्देश्यले बैंकसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी भत्ता घरमै उपलब्ध गराउने योजनामा आफू रहेको उनले बताए।  ‘जनतालाई नजिकको सरकारको अनुभूति दिलाउने गरी काम गर्नेछु,’ उनी भन्छन्, ‘सरल, सहज, छिटोछरितो रूपमा सेवा प्रवाह गर्ने मेरो प्रयास हो।’ आवश्यक कागजात पूरा भएका सेवाग्राहीको काम सकेसम्म १५ मिनेटभित्रै सम्पन्न गर्ने गरी सेवा प्रवाह गरिरहेको उनको दाबी छ। अन्य सरकारी कार्यालयसँग समन्वय गर्नुपर्ने काममा केही समय लाग्न सक्ने भए पनि त्यस्ता सेवाग्राहीलाई सहजीकरण गरेर काम सम्पन्न गराउन आफूले सहयोग गर्ने उनी बताउँछन्।