काठमाडौँ । रसुवा भोटेकोशी बाढीबाट घाइते भएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम लगिएको छ । सिमा भन्सार क्षेत्रमा मजदुरी गर्ने ४३ बर्षिया श्रीमती र ५० बर्षिय श्रीमानलाई काठमाडौँ महानगरपालिकाले आज आश्रम लगेको हो । बेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरु जसले आफ्नो हेरचाह आफैँ गर्न सक्नुहुन्न, हेरचाह र स्याहारका लागि आफन्त पनि हुनुहुन्न, खानका लागि अन्नपात छैन, अन्न किन्ने पैसा छैन, विरामी पर्दा उपचार गर्ने पैसा छैन, त्यस्ता व्यक्तिहरुको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमलाई काठमाडौँ महानगरपालिकाले सहयोग उपलब्ध गराएको छ । आश्रममा यस्ता व्यक्तिहरुको मानवोचित व्यवस्थापन हुने गरेको छ । आज आश्रममा लगिएका दम्पत्तिको स्थायी बसोबास बाँके कोहलपुर हो । उहाँहरुले बाढीबाट बच्नका लागि हाम फालेर भाग्दा घाइते हुनुभएको हो । बाढीमा परेपछि उद्धार गरेर श्रीमानलाई भदौ ११ गते दिउँसो र श्रीमतिलाई १२ गते साँझ अस्पताल ल्याइएको थियो । दुवै जना घाइते हुनुहुन्थ्यो । तर, भित्री चोट थिएन । उपचारपछि उहाँहरु आज बिहान डिस्चार्ज हुनुभएको हो । डिस्चार्जपछि उहाँहरुसँग घर फर्किने पैसा नभएको र श्रीमतिलाई पेटको समस्या सुधार गर्न केही दिन आराम आवश्यक भएकोले एम्बुलेन्समा राखेर मानव सेवा आश्रम लगिएको हो ।