काठमाडौँ । रक्षा मन्त्रालयको ७१ वर्षे इतिहासमा पहिलो पटक महिला सचिवका रूपमा इन्दु घिमिरेले जिम्मेवारी पाएकी छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सहसचिव घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो । घिमिरे रक्षा मन्त्रालयको ३८औँ सचिव बन्नेछिन् । रक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्ने उनी पहिलो महिला हुन् । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले वरिष्ठताका आधारमा घिमिरेसहित श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले समितिको पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गरेको हो । सचिवमा बढुवा भएपछि उनको पहिलो पदस्थापन प्रदेश प्रमुख सचिवका रूपमा नभई सङ्घीय सरकारको संवेदनशील मन्त्रालय मानिने रक्षा मन्त्रालयमा भएको हो । घिमिरे यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको जिम्मेवारीमा थिइन् । यससँगै रक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्ने महिलाका रूपमा घिमिरेले प्रशासनिक इतिहाससमेत बनाएकी छन् । सामान्यतः सहसचिवबाट सचिवमा बढुवा हुने कर्मचारीको पहिलो पदस्थापन प्रदेशको प्रमुख सचिवका रूपमा हुने अभ्यास रहँदै आए पनि घिमिरेलाई भने सङ्घीय मन्त्रालयमै जिम्मेवारी दिइएको हो । यसअघि भदौ ३ गते सचिवमा बढुवा भएका कमल भट्टराईलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो । भट्टराई यसअघि कायममुकायम प्रमुख सचिवका रूपमा छ महिनाभन्दा बढी मधेस प्रदेशमा समेत कार्यरत थिए । गृहमा अनुभवी केदारनाथ शर्मा रक्षा सचिवको जिम्मेवारीमा रहेका केदारनाथ शर्मालाई सरकारले गृह सचिवमा सरुवा गरेको छ । गृह प्रशासनमा लामो अनुभव भएका शर्माले सहसचिवका रूपमा गृह मन्त्रालयमा करिब तीन वर्ष काम गरिसकेका छन् । गृह मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्ने उनी ३५ औँ सचिव हुनेछन् । गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा अहिले राजकुमार श्रेष्ठ छन् । उनी सचिवको पाँच वर्षे कार्यकाल पुरा गरेर यहीँ भदौ १५ गते अनिवार्य अवकाशमा जादैँछन् । श्रेष्ठले अवकाश लिएपछि शर्माले गृह सचिवको जिम्मेवारी सम्हाल्नेछन् । शर्माले गृह मन्त्रालयमा प्रशासन महाशाखा र शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्नुका साथै मन्त्रालयको प्रवक्ताका रूपमा समेत काम गरेका थिए । कोरोना महामारीका बेला उनी गृह मन्त्रालयमै कार्यरत थिए । उनसँग काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा काम गरेको अनुभवसमेत छ । शर्माले २०७४ सालमा करिब एक वर्ष काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । त्यही अवधिमा संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले प्रशासनिक नेतृत्व गरेका थिए । सशस्त्र द्वन्द्वका समयमा समेत उनले संवेदनशील जिल्लामा प्रशासनिक जिम्मेवारी सम्हालेका थिए । उपसचिव रहेका बेला २०६० सालमा उनले अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । शर्मा २०८१ वैशाखमा सचिवमा बढुवा भएका थिए । उनको पहिलो पदस्थापन कोसी प्रदेशको प्रमुख सचिवका रूपमा भएको थियो । कोसी प्रदेशको प्रमुख सचिवका रूपमा उनले १६ महिना काम गरे । प्रदेशमा अहिलेसम्म ११ जना प्रमुख सचिवले जिम्मेवारी सम्हालेकामा शर्मा सबैभन्दा लामो समय सो पदमा रहने प्रमुख सचिव बनेका थिए । २०८२ वैशाखमा उनी तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा भएका थिए । करिब आठ महिना उक्त मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेपछि उनी रक्षा मन्त्रालयको सचिव बनेका थिए । रक्षा सचिव बनेको करिब नौ महिनामै उनको गृह सचिवमा सरुवा भएको हो । ५८ वर्षे उमेर हदका कारण शर्मा आगामी २०८४ असार १ गते अनिवार्य अवकाशमा जानेछन् । बिचमा अन्यत्र सरुवा नभए उनी गृह सचिवकै जिम्मेवारीबाट अवकाशमा जाने सम्भावना छ । गृह सचिवको जिम्मेवारी पाएपछि शर्माले मुलुक गम्भीर तथा जटिल अवस्थामा रहेका बेला आफूले गृह प्रशासनको नेतृत्व गर्ने अवसर पाएको भन्दै जिम्मेवारीलाई सकेसम्म प्रभावकारी रूपमा निर्वाह गर्ने समता प्रेससँग बताएका छन् । उनले त्यसका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।