काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले हालसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थल मार्गबाट उद्धार गरेको छ । उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको हो । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको बाढीपछिको अवस्थाबारेको विवरणअनुसार प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ हेलिकप्टरले २३६ उडान गरिसकेका छन् । विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको समेत उद्धार भइसकेको छ भने बाँकीको उद्धार प्रयास जारी छ । प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका कारण उद्धारमा चुनौती रहे पनि सरकारले थप हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ । उद्धारमा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा खटिएका छन् । राहत कोषमा ५ अर्बभन्दा बढी रकम जम्मा सरकारका अनुसार बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ । उक्त रकम आज मध्यान्हसम्म नौ वटा वाणिज्य बैङ्कका खातामा जम्मा भएको हो । त्यस्तै हिमालयन र लक्ष्मी बैङ्कमा १८ लाख ८ हजार १८९ अमेरिकी डलर थप रकम जम्मा भएको सरकारले जनाएको छ । सरकारले राहत रकमको पारदर्शी उपयोग तथा सम्भावित आर्थिक ठगी नियन्त्रणका लागि आधिकारिक क्युआर कोड र खातामार्फत मात्रै सहयोग गर्न आग्रह गरेको छ । ३ हजार ५०० विस्थापितलाई अस्थायी आवास बाढीबाट विस्थापित करिब तीन हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवामा तीन र नुवाकोटमा १५ वटा राहत शिविर सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ । राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग परिसरमा सङ्कलन भइरहेको छ । सडक र सञ्चार सम्पर्क पुनः स्थापनाको प्रयास बाढीका कारण सडक सम्पर्क विच्छेद भएको रसुवा अहिले वैकल्पिक सडकमार्फत राष्ट्रिय सडक सञ्जालसँग जोडिएको सरकारले जनाएको छ । काठमाडौँ-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडक खण्ड साना चार पाङ्ग्रे सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ । त्यस्तै गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो हटाएर पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। धादिङबेसी जाने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको सरकारको दाबी छ । बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएकोमा हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा ल्याइएको छ । ६७५ शव फेला, पहिचान भएका शव परिवारलाई जिम्मा लगाउने काम जारी सरकारका अनुसार हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन् । पहिचान नभएका शवलाई डिएनए लगायत पहिचानमा सहयोग गर्ने आधार सुरक्षित राखी सम्बन्धित निर्देशिकाअनुसार व्यवस्थापन गरिने सरकारले जनाएको छ । परिवारले पहिचान गरेका शव भने परिवारलाई जिम्मा लगाउने काम भइरहेको छ । अन्तर्राष्ट्रिय सहयोग पनि जुट्दै बाढी प्रभावितको व्यवस्थापन तथा पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत जुट्न थालेको सरकारले जनाएको छ । एसियाली विकास बैङ्कबाट ५० लाख अमेरिकी डलर अनुदान तथा थप एक लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैङ्कबाट १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण, अमेरिकाबाट पाँच लाख अमेरिकी डलर र अस्ट्रेलियाबाट १० लाख अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको सरकारको भनाइ छ । भारतबाट तीन चरणमा ५७