काठमाडौं । अपर त्रिशुली २१६ मा कार्यरत सव–इन्जिनियर महेश रावल र उमेश रावलले टनेलमा रहेका साथीहरूको उद्धार हुन नसकिरहेको बताएका छन्। उनीहरूले आफ्नै आँखा अगाडि धेरैलाई बाढीको भेलले बगाएको सुनाउँदै राज्यले बाहिर देखिएकाहरुको उद्धारसँगै सुरुङभित्र फसेकाहरुको पनि खोजीकार्यमा तीब्रता दिनुपर्ने माग गरे। हाइड्रो पावरमा सब–इन्जिनियरकारुपमा कार्यारत अछाम पञ्चदेवाल विनायक नगरपालिका ७ पुल्लेतोलाका उमेश रावलले आफूहरु भोटेकोशीको भेलबाट केही मिनेटको अन्तरले मात्रै बाँच्न सफल भएको सुनाए। आफूहरु बाँचेर आउन सफल भएपनि आफ्नै आँखा अगडि साथीहरुलाई भेलले बगाउँदा निकै नै पीडा भएको उनी बताउँछन्। अपर त्रिशुली २१६ मा ड्याम, पावर हाउस र टनेल गरेर ३ हजार बढी कर्मचारी कामदार कार्यरत रहेकोमा १ हजारबढी सम्पर्कविहीन रहेको हुनसक्ने उनले बताए । “सपनाजस्तै लाग्छ त्यो क्षण, बाढी आउने केही जानकारी थिएन, एक्कासी स्वाँ-स्वाँ र सुँसु गरेको आवाज आएपछि बाहिर निस्कदा त विशाल भेल देखापर्यो, धेरै साथीहरुलाई बगायो, केही हामी भीरमा घाँस समाएर उम्मकन सफल भयौं” रावलको कथन छ । बाढीबाट क्षणभरको अन्तरमा बाँच्न सफल सोही आयोजनामा सब–इन्जिनियरकोरुपमा कार्यारत अछाम पुल्लेतोलाकै सुरुङमा कार्यारत महेश रावलले केही भाग्न सफल भएपनि धेरै साथीहरु सुरुङभित्रै फसिरहेको जानकारी दिए । उनीहरुको उद्धारको पहल चाँडो गर्न आग्रह गर्दै भने, “म लगायत केही साथीहरुमात्रै भाग्न सफल भयौं, धेरै सुरुङभित्रै फस्नु भएको छ, उहाँहरुको जीवन रक्षाका लागि खोज तथा उद्धारको पहल गर्दा सकुशल हुने सम्भावना बाँकी छ ।”