चितवन । भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार र व्यवस्थापनमा जुटेका छन् । अधिकांश एम्बुलेन्सले घाइतेलाई अस्पताल र घटनास्थलबाट शवलाई शवगृहसम्म निःशुल्क रूपमा पुर्याइरहेका उनले जानकारी दिए । टाढा पुर्याउनुपर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलगायत सङ्घसंस्थाले इन्धन सहयोग गरिरहेका लामिछानेले बताए । उनका अनुसार चितवनमा ४५, नवलपरासी (पूर्व) मा सात, नवलपरासी (पश्चिम) मा १०, गोरखामा १०, धादिङमा १५, नुवाकोटमा छ, कपिलवस्तुमा पाँच, रुपन्देहीमा पाँच वटा एम्बुलेन्स घाइतेको उद्धार तथा शव व्यवस्थापनमा परिचालन भएका उनले जानकारी दिए । काठमाडौँ उपत्यकामा अस्पतालबाट पशुपति र वरपरका घरसम्म शव निःशुल्क लगिएको छ । यसैबीच, बाढीमा परेर नुवाकोटमा तीन वटा एम्बुलेन्स बगाएको र एउटा पुरिएका अवस्थामा फेला परेको छ । रसुवाका पाँच वटा एम्बुलेन्स रहेकामा हालसम्म कोही पनि सम्पर्कमा नआएका उनले बताए । अध्यक्ष लामिछानेले भने, “एम्बुलेन्स चालक रातदिन शव व्यवस्थापन र घाइतेको उद्धारमा खटिएका छन् ।”